देश । सुरक्षाको हिसाबले अत्यन्त संवेदनशील मानिने सर्लाहीको रामनगर गाउँपालिका–५, बिर्ताटोलमा शुक्रबार नेपाली कांग्रेसले कार्यक्रम गरेको छ । नेपाली काँग्रेसका नेता एवं सर्लाही क्षेत्र नं. ४ का सङ्घीय सांसद डा. अमरेश कुमार सिंह र प्रदेश सांसद विरेन्द्र सिंहले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शिवपुजन राय पक्षबाट अवरोध हुँदा तनाव उत्पन्न भएको थियो । बिर्ताको एक विद्यालयमा भएको कार्यक्रममा सांसद सिंहले नेकपा नेता शिवपुजन रायका भाई हरिनन्दन प्रसाद राय लगायतलाई पार्टीमा प्रवेश गराएका छन् ।
कार्यक्रममा प्रदेश सभा सांसद उपेन्द्र कुशवाहा , नेपाली कांग्रेसका जिल्ला उपसभापति सुरेन्द्र सिंह , क्षेत्र नम्बर ४ का सभापति आम आश्रय शाह लगायतका नेताहरुको उपस्थिति रहेको थियो । ‘यो क्षेत्रमा बलको राजनीति अब कदापी हुदैन । कसैले धम्क्याएर जनतालाई आफ्नो पक्षमा गर्न सक्ने अवस्था अब छैन’ डा. सिंहले भने । उनले मन्तव्यको क्रममा आफुले स्थानीय विकासको एजेन्डालाई अगाडी सरेकोमा जोड दिए । उनले यसको सुरुवात सडकबाट गरेको र अब आफ्नो ध्यान स्वास्थ्य र शिक्षामा रहेको समेत प्रस्ट्याए ।
‘यहाँका जनताले यहि पढ्ने र आफ्नो स्वास्थ्य प्रति ढुक्क हुने अवस्थाको लागि म लागिरहेको छु’ डा.सिंहले भने ,’आफ्ना प्रतिनिधिसँग के विकास गर्नु भएको छ भनेर अब जनताले प्रश्न गर्नु पर्छ र सरकारमा रहेर के गरे ? भन्ने जवाफ दिनु पर्छ ।’ उनले अन्य क्षेत्रको तुलनामा आफ्नो क्षेत्रमा बढी विकास भएको पनि प्रस्ट्याए । उनले जनतालाई कसैसँग नडराउन आग्रह गर्दै स्थानीय प्रशासनलाई न्याय र अन्याय छुट्याउन आग्रह गरे । ‘प्रशासन कसैको करकापमा सत्ता तिर झुकाव राखेर अन्याय गर्छ भने अब जनता सडकमा आउनेछन्’ उनले भने ।
यस्तै , प्रदेश सभा सांसद विरेन्द्र सिंहले पनि बल नभई विकासले अगाडी बढ्न चुनाती दिए । ‘यहाँ मैले यो विकास गरे भनेर अगाडी आउनुस । जनतालाई बलले धम्क्याएर होइन , मन जितेर नेता बन्नुस’ सिंहले भने । उनले आफ्नो क्षेत्रमा डर र त्रास फैल्याउनेलाई कदापी क्षमा नगर्ने पनि चुनौती दिए । उनको विशेष पहल भएको कार्यक्रममा क्षेत्रका सम्पूर्ण कार्यकर्ताहरु उपस्थित रहेका थिए ।
हरिनन्दनसँगै बिर्ताटोलको २ सय ४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । शिवपुजनको टोलमा पहिलोपटक नेपाली कांग्रेसले कार्यक्रम गरेको हो । यसैले गर्दा पनि कार्यक्रम अगावै केहि समान्य झडप त्यहाँ भएको थियो । आफ्नो काकाका छोरालाई काँग्रेस नेता सिंहले पार्टीमा प्रवेश गराएपछि रुष्ट भएका नेकपा नेता रायले कार्यक्रममा अवरोध गरेपछि तनाव उत्पन्न भएको हो । अवस्था बिग्रन नदिन सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौर, सशस्त्र प्रहरीका उपरीक्षक (एसपी) गङ्गाराम श्रेष्ठ लगायत सुरक्षा प्रमुखहरु नै हिजो दिनभर कार्यक्रम स्थलमा बसेर गएसाँझ अबेर सदरमुकामतर्फ फर्किएका थिए ।
रामनगर क्षेत्रमा राती पनि ठूलो सङ्ख्यामा नेपाल प्रहरी तथा बाक्लो मात्रामा सशस्त्र प्रहरी तैनाथ गरिएका थिए । सर्लाहीको ४ नं. निर्वाचन क्षेत्रमा पर्ने रामनगरमा बर्सेनि जसो कांग्रेस नेता सिंह र नेकपा नेता रायपक्षबीच झडप हुने गरेको छ । गत वर्ष रामनगरको बहुअर्वा गाउँमा गोली चल्दा एक जनाको ज्यान गएको थियो भने केही मानिस घाईते थिए । सर्लाहीको ४ नं. क्षेत्र सुरक्षाको हिसाबले अति संवेदनशील मानिन्छ ।











