कुलमानको पक्षमा सर्लाहीमा प्रदर्शन

देश । पछिल्लो केहि दिन यता सर्लाहीमा विनाकारण विद्युत काट्न थालेपछि स्थानीय फेरी कतै लोडसेडिङ त आउने होइन भन्ने आशंकामा छन् । लोडसेडिङबाट मुक्त भईसकेको अवस्थामा फेरी विनाकारण हुने गरेको विद्युत कटौतीले स्थानीयलाई त्रसित बनाएको हो । साथै , नेपाललाई लोडसेडिङबाट मुक्ति गराउने कुलमान घिसिङलाई नै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नु पर्ने मांग राख्दै स्थानीयले प्रदर्शन समेत गरेका छन् ।

सर्लाहीको पूर्व–पश्चिम राजमार्गमा शुक्रबारदेखि स्थानीयले निरन्तर प्रदर्शन गरिरहेका छन् । शनिबार दिउँसो हरिवनमा आयोजित पदयात्रामा स्थानीय सयौं सर्वसाधारणको उपस्थिती रहेको थियो । हरिवनको कडरिया चोकबाट पूर्व–पश्चिम राजमार्गमा गरिएको पदयात्रा कृष्ण चोकस्थित सगुन सहकारीको भवन अगाडी पुगेर कोण सभामा परिणत भएको सामाजिक अभियन्ता तथा सर्भीस फर पिस नेपालका कार्यकारी निर्देशक सरोज खनालले जानकारी दिए ।

उनले नेपालीलाई लोडसेडिङबाट छुटकारा दिने कुलमानलाई पुन: प्राधिकरणको नेतृत्वमा ल्याउन आग्रह गरे । ‘नेताले भन्ने चाही जनताको म्यान्डेट अनि खै त हाम्रो ईच्छालाई पुरा गरेको ? दुइ तिहाइ जनताको मांग त कुलमान नै छ । कि यो दुइ तिहाइ संसदमा मात्र लागु हुन्छ’ सरोजले प्रतिप्रश्न गरे । उनले स्थानीय स्वतस्फूर्त रुपमा प्रदर्शनमा सहभागी भइरहेको समेत जनाए ।

यस्तै , शनिवार लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गमा पनि स्थानीयले कुलमान घिसिङलाई नियुक्तिको माग राखेर प्रदर्शन गरेका थिए । प्रदर्शनका सहभागीले हाम्रालाई हैन, राम्रालाई नियुक्ति गर, कुलमान घिसिङलाई नियुक्ति गर लगायत नारा अंकित प्लेकार्डसहित नाराबाजी समेत गरेका थिए।

कमेन्ट गर्नुहोस्