कविता सङ्ग्रह ‘पोइटिक डायस्पोरा’ माथि विमर्श

साहित्य । कवयित्री अनुशा शर्मा सुवेदीद्वारा लिखित कविता सङ्ग्रह ‘पोइटिक डायस्पोरा’माथि विमर्श गरिएको छ । ललितपुरको हात्तिबनमा आयोजित विशेष कार्यक्रममा उक्त कृतिमाथि समीक्षा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. अरुण गुप्ताले कृतिका कविता चिन्तनशील र प्रभावशाली रहेको बताए । उनका अनुसार अंग्रेजी भाषामा लेखिएका १३० वटा कविता सशक्त छन् । लेखकको विषय समात्ने क्षमता र शाब्दिक परिकल्पना बलियो रहेको उनले उल्लेख गरे ।

कवि–समीक्षक केशव सिग्देलले अनुशाका कविता उच्च कोटिका रहेको बताए । ‘शब्द शब्दमा गहन अर्थ मीठो शिल्पमा बाँधिएका छन् । खुट्किलाबद्ध शैलीले पाठकलाई आकर्षित गर्छ । कवितामा स्वतन्त्रताको चिन्तन प्रस्ट रूपमा देखिन्छ’, उनले भने ।

अर्का समीक्षक महेश पौडेलले अनुशाका कवितामा जीवन र जगतलाई हेर्ने दृष्टि रहेको बताए । उनका अनुसार कवितामा ध्यान (मेडिटेसन) जस्तो प्रभाव दिने क्षमता छ । साथै, उनले कवितामा बाल मनोविज्ञानका पक्ष पनि पाइने बताए ।

कवि सरला केसीले पनि अनुशाका कवितामा शक्तिशाली भाव रहेको उल्लेख गरिन् । ‘कविता पढ्दा शीतल छायामा बसेजस्तो अनुभूति हुन्छ । शब्दमा शक्ति र भावमा ओज छ’, उनले भनिन् । कवि तथा लेखक राजीव श्रेष्ठले अनुशाका कवितामा जीवनका अनुभूति झल्किएको बताए ।

उनका अनुसार कवितामा महिलाले समाजमा निर्वाह गर्न सक्ने सशक्त भूमिकाको सन्देश पनि समेटिएको छ । साथै, राष्ट्रभाव र आध्यात्मिक चेतना पनि कवितामा प्रस्ट देखिन्छ । कार्यक्रममा पत्रकार तथा कवि-लेखक दीपक सापकोटाले केही कविता वाचन गरेका थिए । पत्रकार एवं साहित्यकार राज सरगमले सहजीकरण गर्दै अनुशासँग कृतिका विषयमा संवाद गरेका थिए ।

सो अवसरमा अनुशाले आफूले व्यक्त गर्न नसकेका भावनालाई कवितामार्फत अभिव्यक्त गरेको बताइन् । ‘विभिन्न कारणले परिवारबाट टाढा रहँदा अनुभव गरेका भावनालाई कवितामा समेटेकी छु । यो कृति प्रकाशनमा परिवारको ठूलो साथ रहेको छ’, उनले भनिन् ।

उनले आफूमा प्रकृतिप्रेम र भगवान् शिवप्रति विशेष आस्था रहेको पनि उल्लेख गरिन् । कार्यक्रममा लेखक तथा बालगीतकार रामबाबु सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्