फिल्म । जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’का अभिनेता पल शाहले यो चलचित्रमा अन्य कलाकारहरू जस्तै आफ्नो पनि महत्त्वपूर्ण भुमिका रहेको बताएका छन् । सोसल मिडिया फेसबुकबाट आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै शाहले निर्देशकको दृष्टिकोणबाट आफुलाई सृजनशील तवरले ट्रेलरमा देखाइएको जनाएका छन् ।
‘निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ। चलचित्रमा मेरो भूमिकाबारे चासो राख्नुहुने सबैमा जेठ १० गतेदेखि नेपालभरका दर्शकहरूलाई चलचित्र हलमा चुले निम्तो दिन चाहन्छु। हामी हलमै भेटौँला है’, पलले लेखेका छन् ।
पलले ‘पुजार सार्की’को ट्रेलरलाई एक दिनमा नै दश लाख पटक हेरेकोमा खुसी व्यक्त गरेका छन् । ‘मैले यो चलचित्रमा अन्य चलचित्र भन्दा निकै फरक, जटिल र महत्त्वपूर्ण भूमिकामा अभिनय गरेको छु। ट्रेलरबाट तपाईँले मेरो अभिनयबारे राख्नुभएको चासो र समर्थनप्रति आभारी छु’, उनले लेखेका छन् ।
आफूसहित सहकर्मी अभिनेताहरू आर्यन सिग्देल र प्रदीप खड्काको एक तस्बिर शेयर गरी प्रशंसकलाई सम्बोधन गर्ने क्रममा उनले लेखेका छन्,‘मेरा प्रशंसकहरूबाट पाइरहेको प्रतिक्रिया र गुनासाहरू मैले हेरिरहेको छु। यो सबैको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु। ‘पुजार सार्की’मा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरूको गुनासोबारे म यो प्रस्ट पार्न चाहन्छु कि यो चलचित्रमा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारहरूको जस्तै महत्त्वपूर्ण भूमिका भने रहेको छ।’
दिनेश राउतले निर्देशन गरेको यो चलचित्रमा पलसँगै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ। यसका लेखक विकास सुबेदी हुन् भने सुवास भुसालले निर्माण गरेका हुन्।