फिल्म । पछिल्लो समय नेपालमा विभिन्न जातजातिका संस्कृतिमा आधारित फिल्म बन्ने क्रम बढेको छ । लिम्बू संस्कृतिमा ‘जारी’, राई संस्कृतिमा ‘गाउँ आएको बाटो’, मगर संस्कृतिमा ‘घर ज्वाइँ’, शेर्पा संस्कृतिमा ‘कार्साङ’ लगायतका फिल्म निर्माण भइसकेका छन् । ती फिल्महरूको कथामा उल्लेखित समुदायको संस्कृति जोडेर तयार गरिएको थियो । यसै क्रममा आजदेखि प्रदर्शनमा आएको फिल्म ‘रिमै’ मा गुरुङ समुदायको कला र संस्कृति समावेश छ ।
एउटा व्यक्तिको जन्मदेखि मृत्युसम्मको संस्कृतिलाई देखाइएको यो फिल्म गुरुङ संस्कृति बुझ्ने महत्वपूर्ण दस्तावेज बन्न सक्नेछ । विशेषगरी गोरखाको माथिल्लो भेगमा बस्ने गुरुङ समुदायको संस्कार र संस्कृति समेटिएको यो फिल्मले प्रेमकथामार्फत संस्कृतिलाई देखाएको छ । यसअघि गुरुङ भाषाका फिल्महरूमा ती संस्कृतिहरू देख्न पाइए पनि मुख्यधार अर्थात् नेपाली भाषामा निर्माण भएको ‘रिमै’ ले गुरुङ समुदायको संस्कृति र जीवनशैलीका विभिन्न आयामहरूलाई गैर-गुरुङहरू माझ पनि परिचित गराउने विश्वास छ ।
फिल्मको सुरुवातमै ठागु (दयाहाङ राई) र रुपा (रिश्मा गुरुङ) का अभिभावकहरूले धागो बाँधेर विवाह गर्ने निधो गर्छन् । ठागु आफ्नै मामाको (माओत्से गुरुङ) छोरीसँग बाल्यकालदेखि नै प्रेममा पर्छन् । सम्बन्धले सोल्टिनी भए पनि ठागुले रुपालाई आफ्नो श्रीमती मानिसकेका हुन्छन् । तर, रुपालाई ठागु मन पर्दैन । बाल्यकालदेखि नै विविध कारणले रुपाको मनमा सोल्टी ठागूप्रति माया छैन । उनलाई पनि पत्तो नभई घृणा विकसित हुँदै जान्छ । बरु रुपाकी बहिनी गोरी (गौमाया गुरुङ) ले ठागुलाई मन पराउँछिन् ।
समयसँगै ठागु आफ्नो आर्थिक अवस्था सबल बनाउन वैदेशिक रोजगारीमा जान्छन् । त्यहाँबाट विदामा फर्किएको समयमा ठागु आफ्नो बाल्यकालको प्रेम रुपालाई श्रीमती बनाएर घर भित्राउन चाहन्छ । तर, रुपा गाउँमा खच्चड लिएर आउने गोविन्द (अर्पण थापा) नामक व्यापारीसँग नजिकिन्छिन् । सोल्टी ठागुसँग टाढिएकी रुपालाई गोविन्दसँग प्रेम हो कि आकर्षण, आफैंलाई थाहा छैन । एक दिन ठागु आफ्नो बुवालाई लिएर मामाकहाँ रुपालाई माग्न आउँछन् ।
बाल्यकालमै धागो बाँधेर एकअर्कासँग विवाह पक्का भएकाले मामाले सहजै विवाहका लागि स्वीकृति दिएर प्रक्रिया अगाडि बढाउँछन् । ठागु गुरुङ संस्कृति अनुसार आफ्नो सोल्टिनी रुपालाई श्रीमतीको रूपमा घर भित्राउन जन्ती लिएर आउँछन् । तर, सोही समयमा रुपा गोविन्दसँग भाग्छिन् । त्यसपछि आउने उतारचढावलाई फिल्मको विषय बनाइएको छ ।
फिल्मको कथा अगाडि बढ्दै गर्दा गुरुङ संस्कृतिलाई पृष्ठभूमिमा देखाइएको छ । यसको मुख्य विषय पनि संस्कृतिसँग जोडिएको छ । गुरुङ समुदायमा छोरी नभई अन्तिम संस्कारको विधि अगाडि बढ्ने परम्परालाई देखाउँदै छोरीको महत्वलाई दर्शाइएको छ । त्यसो त ‘रिमै’ शब्दको अर्थ गुरुङ समुदायमा ‘छोरी-चेली’ भनेर बुझिन्छ । फिल्मको प्रचार सामग्री हेर्दा ‘कबड्डी’ जस्तै लागे पनि यो पूर्ण रूपमा फरक छ । गुरुङ समुदायको फूल बाध्ने, विवाहको प्रचलन, अन्तिम संस्कारको प्रचलनलाई फिल्ममा विस्तारपूर्वक देखाइएको छ । नयाँ पुस्ताका गुरुङ वा गैर-गुरुङलाई फिल्मले गुरुङ समुदायको कला र संस्कृतिसँग जोडेर थोरबहुत जानकार बनाउँछ ।
फिल्ममा अभिनेता दयाहाङ राईले ‘ठागु’ नामक पात्रको भूमिका निर्वाह गर्नुभएको छ । पछिल्लो समय प्रायः समुदायका फिल्महरूमा अभिनेताको रूपमा काम गर्न पाएका अभिनेता राईले ती फिल्ममार्फत नेपालको समुदायको विविधता र सौन्दर्यतालाई बुझ्ने मौका पाएको बताए ।
‘मैले धेरै समुदायको कथालाई पर्दामा प्रतिनिधित्व गर्ने मौका पाएको छु । यो एउटा अभिनेताका लागि गौरवको कुरा हो । मैले ती समुदायका पात्र भएर काम गर्दा उनीहरूको मौलिकता, संस्कृति, संस्कार र कला बुझ्ने मौका पाएँ । ती विविधता हाम्रो सौन्दर्य हुन्’, उनले भने ।
अभिनेता राईले ‘रिमै’ अहिले झट्ट हेर्दा सामान्य फिल्म जस्तै लागे पनि यसमा देखाइएको विषय मौलिक र गम्भीर रहेको बताए । गाउँमा रोजगारीको अवसर नरहेकोसँगै इमानदार केटाले गर्नुपर्ने संघर्षलाई समेत फिल्ममा समेटिएको उहाँले बताए ।
फिल्मकी अभिनेत्री रिश्मा गुरुङले फिल्म हेरेपछि गुरुङ समुदायमा छोरीको महत्व झन् प्रस्ट हुने जानकारी दिईन् । आफैं गुरुङ समुदायकी भए पनि नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकिरहेको संस्कृतिलाई फिल्मले व्यापक रूपमा प्रचार गर्ने अभिनेत्री गुरुङले विश्वास व्यक्त गरिन् । झन्डै आठ वर्षको अन्तरालमा उनले यो फिल्ममा अभिनय गरेकी हुन् । फिल्ममा अर्पण थापा, गौमाया गुरुङ, कविता आलेमगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिबी गुरुङ, टेक गुरुङ लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
खिलबहादुर गुरुङले निर्देशन गर्नुभएको फिल्ममा समुदायका संस्कृति समेटेर कथा तयार गरिए पनि त्यो मनोरञ्जनपूर्ण छ। विदेशी फिल्महरूमा समुदायका कथा आउन थालेका धेरै भए पनि नेपालमा भने त्यसको संख्या न्यून नै छ । लगानीकर्ताको अभावसँगै सबै दर्शकलाई हुने पटकथा तयार गर्न नसक्दा समुदायका कथाहरू न्यून रूपमा ठूलो पर्दा अर्थात् फिल्ममा देखिने गरेको छ । फिल्म ‘रिमै’ का सम्पादक मित्रदेव गुरुङले फिल्मले जुनै समुदायको कथालाई उठान गरे पनि मनोरञ्जन आवश्यक रहेको बताए ।
‘संस्कृतिले सम्बन्धित समुदायलाई मनोरञ्जन प्रदान गर्ला तर त्योसँगै सबै समुदायलाई हुने गरी पटकथा तयार गर्न सके मात्र त्यो फिल्म सफल मानिन्छ । म आफैं गुरुङ समुदायको भए पनि हामीले तयार गरेको फिल्म ‘रिमै’ हाम्रै संस्कृतिमा भए पनि मनोरञ्जक हुनुपर्छ भनेर तयार गरेका हौँ । यो फिल्मले गुरुङ समुदायमा जन्म भएदेखि मृत्यु भएर अन्तिम संस्कार हुँदासम्मको संस्कारलाई देखाएको छ’, सम्पादक गुरुङले भने ।
मौलिक विषय र समुदायको कथाको आगमन भएसँगै नेपाली फिल्महरू विदेशीबाट प्रभावित भएको भन्ने आरोप कम हुँदै गएको छ । कथासँगै गीत-संगीत, भेषभूषा, लवजमा समेत मौलिकता देखिन थालेको छ । नेपाली फिल्महरूमा ग्रामीण भेगको सौन्दर्य र गाउँले जीवनको खुसीलाई देखाइनु नयाँ पुस्ताका लागि नवीनतम अनुभव पनि हुन सक्छ । गुरुङ समुदायकै कथामा आधारित रहेर तयार गरिए पनि ‘रिमै’ ले संस्कृति बुझाउँदै आम दर्शकलाई पनि मनोरञ्जन दिन्छ ।
भेषराज कार्की








