अमेरिकाबाट आयो ‘लेक्सिनटन दोहोरी’

संगीत । अमेरिकामा बस्दै आएका नेपाली कलाकारहरुले नेपाली लोकदोहोरी गीतको प्रवर्धनका लागि सुरु गरेको प्रत्यक्ष लोकदोहोरी गायन कार्यक्रम ‘लेक्सिनटन दोहोरी’ को पहिलो एपिसोड सार्वजनिक गरिएको छ । नेपाली कला संस्कृति संसारभर फैल्याउने उदेश्य सहित फिल्म निर्देशक सुमन दाहालको सक्रियतामा संयुक्तराज्य अमेरिकाको केन्टकी राज्य स्थित लेक्सिनटन शहरमा सुरु गरिएको लोकदोहरी साङ्गीतिक कार्यक्रम ‘लेक्सिनटन दोहोरी’ मा हरेक साता कलाकारहरु जम्मा भई नयाँ-नयाँ दोहोरी गीत गायन प्रतियोगिता गर्ने गरीएको छ । यसरि भएको कार्यक्रमलाई युट्युब मार्फत सार्वजनिक गरेर प्रवासमा रहेका नेपालीलाई मौलिकता तर्फ उन्मुख गर्ने निर्देशक दाहालले बताए ।

प्रत्यक्ष दोहोरी गायनको मुख्य गायक गायिकामा बिष्णु डुम्रे र सम्झना अधिकारी छन् । अन्य गायक गायिकामा सिर्जना मरासिनी, सरिता मरासिनी, नर्वदा खरेल, हिम कुँवर, सन्दिप अर्याल, सीताराम अधिकारी, कुष्माखर भट्टराई, श्याम पराजुली, कृष्ण पराजुली, युवराज ढुंगाना तथा समूह गायनमा रूपा अर्याल, मन्जु थापा, कल्पना अधिकारी, बबिता अधिकारी पराजुली, तुलसा सुवेदी, सरस्वती पाण्डे, शर्मिला सुवेदी, आरती थापा रहेको पनि निर्देशक दाहालले जानकारी गराएका छन् । दोहोरी गायनमा मादलतर्फ गणेश खड्का, हार्मोनियममा सनातन रेग्मी गिटारमा कृष्ण राना, तबलामा उद्धव उप्रेती छन् । एनआरएनए अमेरिका केन्टकी च्याप्टर अध्यक्ष केशवराज लोहनी प्रमुख आतिथ्यतामा सम्पन्न पहिलो शृंखला सार्वजनिक भइसकेको छ ।

कमेन्ट गर्नुहोस्