‘आउट लः दफा २१९’ : एक्सनमा नयाँपन

फिल्म । नेपालमा एक्सन जनराका फिल्म हेर्ने दर्शक भएता पनि मेकिङमा गुणस्तरीयता नहुँदा दर्शक घरेलु फिल्ममा कम देखिन्छन् । एक्सन विधामा तयार गरिएको नेपाली फिल्मलाई चासो नदिएका नेपाली दर्शकले यसवर्ष गत दसैँमा प्रदर्शन भएको फिल्म ‘१२ गाउँ’ लाई राम्रो साथ दिए । त्यसपछि भने नेपाली निर्माता एक्सन फिल्म बनाउन अगाडि आएका छन् ।

यद्यपि दुई वर्ष अगाडि नै बनिरहेका नियमित फिल्म भन्दा फरक बनाउने कोसिस अनुसार फिल्म ‘आउट लः दफा २१९’ को निर्माण सुरू गरिएको थियो । निर्देशक विक्की महर्जन र निर्माता अमित अग्रहरी सम्झौता बिना फिल्म बनाउन अगाडि बढे । उनीहरूले त्यस्तै प्यासन भएका अभिनेता सुशील श्रेष्ठलाई भेटे । एक्सन हिरोमा हुनुपर्ने सम्पूर्ण गुणसँगै आफ्नो पात्र प्रतिको समर्पणलाई निर्वाह गर्न सुशील तयार भएपछि फिल्मको निर्माण प्रक्रिया अगाडि बढ्यो ।

‘यो फिल्ममा एक्सन मात्र छैन । एक्सनसँगै फिल्मले नेपालको महत्वपूर्ण बिषयलाई उठान गरेको छ । फिल्ममा एक्सन, ड्रामा, कमेडी, थ्रीलर सबै छ । यसमा हेर्नका लागि धेरै कुरा छ । दर्शकलाई यसपटक धेरै सरप्राइज हुनेवाला छ । ट्रेलरमा सबै कुरा खोलिएको छैन’, निर्देशक महर्जनले भने । उनले फिल्मले सामाजिक संदेश पनि प्रवाह गर्नेमा जोड दिए । सोही कारण यसमा दफा २ सय १९ को चर्चा गरिएको छ ।

‘यो एउटा काल्पनिक कथा हो । क्यारेक्टर ग्याङस्टारकै हो । तर, यो बदला र न्यायको कथा हो । यसको कथावस्तु निकै नै गरुङ्गो छ’, उनले भने । उनले विशेषत यसको विषय महिला बलात्कारसँग जोडिएको बताए । निर्माता अग्रहरी फिल्म बनिसक्दा आफू ढुक्क भएको बताउछन् । उनले फिल्ममा समावेश एउटा एक्सनका लागि चालिस लाख खर्च गरेका छन् ।

उनले भने,‘यस्तो एउटा विषयवस्तु हामीले ल्याएका छौं, जुन भन्न आवश्यक थियो । एक्सनमा यो फिल्मले नेपाली फिल्म क्षेत्रमा नयाँ वेन्चमार्क नै खडा गर्छ जस्तो लाग्छ मलाई । मैले पैसा सोचेर फिल्म बनाएको नै होइन । नयाँ भिजन, नयाँ विषयवस्तु भएका कारण नै लगानी गरेको हुँ ।’

उनले नेपालमा बनिरहेका एक्सन फिल्म भन्दा विल्कुलै फरक फिल्म ‘आउटलः दफा २१९’ बनेको दाबी गरे । उनले विदेशी एक्सन फिल्म झैँ महसुस गराउनुका साथै दर्शकले स्तरीयता देख्ने दावी गरे ।

फिल्मको मेकिङ, प्रस्तुति, एक्सन, कलाकारहरुको अभिनयले सर्वाधिक चर्चा पाइरहेको छ । नायक सुशील श्रेष्ठको नयाँ अवतारले दर्शकलाई सरप्राइज पनि दिएको छ । यसैले, बक्स अफिसमा यो फिल्मले सुखद कमाई गर्ने विश्वास लिइएको छ ।

फागुन २९ गतेदेखि प्रदर्शन हुने फिल्मलाई अमित अग्रहरी र निशा गुइडेले निर्माण गरेका हुन् । निर्देशक महर्जन र दीर्घ धामीले संयुक्त रुपमा पटकथा तयार गरेको फिल्ममा नविन गुरुङले छायांकन, साहिल खानले सम्पादन गरेका छन् । फिल्ममा सुशिलको साथमा नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारहरुको अभिनय छ ।

कमेन्ट गर्नुहोस्