फिल्म । नेपाली फिल्म ‘स्त्री’को निर्माण सम्पन्न भएसँगै यसको प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माणपक्षले बुधबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मलाई आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा ल्याइने जानकारी दिएको हो । समीर राईको निर्माणमा तयार भएको फिल्मलाई जीवन शाहीले निर्देशन गरेका हुन् । टौवा क्रिएसनको ब्यानरमा निर्माण भएको यस फिल्मको सार्वजनिक पोस्टरमा अधिकांश कलाकारहरूलाई फरक–फरक अवतारमा प्रस्तुत गरिएको छ ।
फिल्ममा दीपाश्री निरौला, प्रमोद अग्रहरी, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डीसीको मुख्य भूमिका रहेको छ । पोस्टरमा कलाकारहरूको आ–आफ्नै भाव र मनोविज्ञान झल्किने शैली देख्न सकिन्छ। पोस्टरको पृष्ठभूमिमा रातो रङको प्रयोग गरिएकाले फिल्म सस्पेन्स थ्रिलर कथामा आधारित रहेको अनुमान गर्न सकिन्छ ।
फिल्मलाई नेपालमा एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्। यसमा सुरवीर पण्डित, नरेन्द्र थापा, देव सरकार, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अन्जु सुनार, रामबाबु हुमागाईं, कल्पना श्रेष्ठ र समीर लामालगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्ममा रामशरण उप्रेतीको छायाङ्कन (डीओपी), बाबुल गिरीको संगीत, देव महर्जन र शंकर महर्जनको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन तथा एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर (बीजीएम) रहेको छ।










