‘निर्मातालाई २० प्रतिशत सरकारको सहयोग चाहिन्छ’

फिल्म । आर्थिक वर्ष २०७७/०७८ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरिसकेका छन् । कोरोना भाइरस (कोभिड १९) ले पछिल्लो समय मारमा परेको मध्येको एक क्षेत्र फिल्मनगरी पनि हो । यद्दपी बजेटमा उचित सम्बोधन नभएको गुनासो फिल्मकर्मीको छ । हल सञ्चालक तथा वितरकहरुको संस्था चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदीपकुमार उदयले बजेटले आफुहरुलाई कहिँ कतै सम्बोधन नगरेको बताई सकेका छन् ।

यसैक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि बजेटमा नेपाली फिल्मका निर्मातालाई पर्याप्त सम्बोधन नगरिएको बताए । चलचित्र निर्माता संघले यी सबै बिषयलाई समेटेर सरकारलाई १७ बुँदे माग पेश गरेको थियो । तर, सरकारले नयाँ बजेटमा जम्मा ३ वटा बुँदालाई मात्र सम्बोधन गरेको निर्माता संघका अध्यक्ष अधिकारीको भनाइ छ ।

‘हाम्रो आजलाई सम्बोधन भएको छैन तर भोलि राम्रो गर्ने भनिएको छ । यसले यस क्षेत्रलाई अगाडी बढाउँन मुस्किल छ । तत्काल राहत कसरी दिने भन्ने बिषयमा सम्बोधन गर्नु पर्ने हो’ अध्यक्ष अधिकारीले भने । उनका अनुसार फिल्म क्षेत्र कोरोना भाइरस अगाडीको अवस्थामा फर्किन २ वर्ष लाग्छ र त्यो बेलासम्म सरकारको साथ चाहिन्छ । उनले फिल्म निर्माणका क्रममा निर्माताले वुझाउने बजेटको २० प्रतिशत सरकारले सहयोग गर्नुपर्ने माग आफूहरुले गरेको बताए । यस्तै, हल संचालक र निर्माताले लिएको ऋणको कर वुझाउने अवधी बढाइदिन पनि आग्रह गरेको तर यस बिषयमा कुनै सम्बोधन नभएको बताए ।

कमेन्ट गर्नुहोस्