रेखासँगै ऋचाको आग्रह : कानुनलाई सम्मान गर्दै न्यायको पक्षमा उभिनुस्

फिल्म । अभिनेता पल शाह विरुद्ध एक नाबालिकाले जबरजस्ती करणी कसुरमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी छिन् । पछिल्लो समय एक टेलिभिजन कार्यक्रम मार्फत ‘रियल हिरो’ को उपाधि समेत पाएका पललाई प्रहरीले अनुसन्धानका लागि सात दिनसम्म हिरासतमा राख्ने अनुमति अदालत मार्फत लिएर प्रक्रिया अगाडी बढाईरहेको छ । यो प्रकरणमा केहि अडियोहरु बाहिर आएपछि सामाजिक सञ्जालमा केहि नाबालिकाको पक्षबाट आफ्नो धारणा राखिरहेका छन् भने केहि पलको पक्षबाट । यस्तै , केहिले कानुन अनुसार हुने भन्दै तटस्थ रुपमा आफ्नो विचार समेत राखेका छन् । यद्दपी पलले केहि समय अगाडी सार्वजनिक गरेको अडियोका कारण नाबालिका ‘साइबर बुलिङ्ग’ को शिकार भइरहेकी छिन् ।

नाबालिकाले जाहेरी दिएपछि सामाजिक सञ्जाल मार्फत निकै आलोचना समेत खेप्नु परेको छ । बुझिएअनुसार उनलाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने मात्र होइन , तल्लोस्तरको संज्ञा दिने पनि छन् । विशेषत फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जाल मार्फत उनलाई भद्दा कम्नेट गर्नेको कमि छैन । आफुलाई भएको दुर्व्यवहारको निन्दा गर्दै कानुनको सहयोग लिईरहेकी उक्त नाबालिकाको सामाजिक सञ्जालमा चरित्र हत्या भइरहँदा घटनाको बारेमा मौनता साध्ने धेरै छन् ।

विशेषत फिल्मसँग जोडिएको विधा अन्तर्गत पर्ने सेलिब्रेटीहरुले यसबारे आफ्नो धारणा राख्न सकेका छैनन् । मीटू र जिरो टोलरेन्स जस्ता अभियान मार्फत आफुलाई भएको अन्यायका विरुद्ध आवाज उठाउने केहि अभिनेत्रीहरु समेत ती नाबालिकाले जाहेरी दिएपछि खेपिरहेको ‘साइबर बुलिङ्ग’ मा मौन छन् । नाबालिका र पलमा को सहि र को गलत ? भन्ने फैशला अदालतले गर्ने नै छ । यद्दपी पछिल्लो समय पलका विरुद्ध जाहेरी दिएकै कारण ती नाबालिकाले सामाजिक सञ्जाल मार्फत विभिन्न फैशला सुन्नु परेको छ ।

नाबालिकाले जाहेरी दिएकै कारण ‘साइबर बुलिङ्ग’ को शिकार हुनुपरेपछि मौनता साधेको टिप्पणी खेपिरहेका केहि अभिनेत्रीहरुले आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् । मंगलबार बिहानै अभिनेत्री रेखा थापाले नाबालिकालाई संरक्षण गर्नुपर्ने दायित्व समाजको भएको उल्लेख गर्दै नाबालिकामाथि भइरहेका आक्रमणको विरोध गरिन् । उनि लेख्छिन् ,’ समाजको दायित्व नाबालिकालाई संरक्षण गर्नु हो । उनको को-सँग कस्ता सम्बन्ध थिए ? जस्ता तर्कहिन कुरा गरेर नैतीक मापदण्ड र हिलो छ्याप्ने लज्जाजनक व्यवहार नदेखाउँ । ‘

यस्तै , अर्की अभिनेत्री ऋचा शर्माले पनि सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा प्रस्तुत गर्दै नाबालिका संरक्षण गर्ने जिम्मा राज्यको भएको र आफूहरू पनि राज्यको हिस्सेदार भएकोले उनको संरक्षण गर्नुपर्ने दायित्व आफूहरू पनि भएको उल्लेख गरेकी छिन् । उनले नाबालिगको करमै पनि शारीरिक सम्पर्क भएको छ भने त्यसलाई कानुनले बलात्कार मान्ने र कानुनमा यो सम्बन्धी स्पष्ट व्यवस्था हुँदाहुँदै नाबालिगको विश्वास तोड्नेको पक्षमा समाज उभिने कल्पना पनि गर्न नसकिने बताएकी छिन् । समकक्षी अभिनेत्रीहरू खुल्लम् खुल्ला बलात्कार आरोपीलाई न्याय मागिरहेको ब्यानरसहित सामाजिक सञ्जालमा उपस्थित भइरहँदा आएको दुई अभिनेत्रीको नाबालिगको पक्षमा आवाज आएको हो ।

पल विरुद्ध जबरजस्ती करणीमा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेर कानुनी प्रक्रिया अगाडी बढाई रहदा मनोरञ्जन उद्योगकै थुप्रै कलाकार पललाई न्याय चाहियो भन्दै सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन् । यद्दपी रेखा र ऋचाले कानुनलाई सम्मान गर्दै न्यायको पक्षमा उभिन आग्रह गर्दै आफ्नो धारणा राखेका छन् ।

कमेन्ट गर्नुहोस्