फिल्म । पछिल्लो समय नेपाली फिल्महरूमा भावनात्मक सन्देश दर्शकसम्म पुर्याउन कविता वाचनको प्रयोग बढ्दै गएको छ । कात्तिक १४ गते प्रदर्शनमा आउने फिल्म ‘परान’को टिजर पनि काव्यात्मक ढाँचामा तयार पारिएको छ । फिल्मका मुख्य अभिनेता नीर शाहको जन्मदिनको अवसर पारेर आइतबार यो टिजर सार्वजनिक गरिएको हो । कवि नवराज पराजुलीको लेखन र कविता वाचन समावेश टिजरमा बाबु-छोराबीचको आशा, भरोसा, माया र जिम्मेवारीको भावना जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।
कवितामार्फत जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोरासँग अन्तिमसम्म साथ पाउने आशा व्यक्त गरेका छन् । टिजरमा नीर शाह गम्भीर मुद्रामा देखिएका छन्, जसले दर्शकहरूलाई भावुक बनाउने अपेक्षा गरिएको छ । ‘सासले होइन, साथले चल्ने’ ट्यागलाइनसहितको यो फिल्मलाई दीपक प्रसाद आचार्य ‘काकु’ले निर्देशन गरेका हुन् ।
उनको यो पहिलो निर्देशकीय कृति हो । देशको प्रतिष्ठित व्यावसायिक समूह गोल्छा र प्रिज्मा समूहको साझेदारीमा बनेको फिल्मका निर्माता शेखर गोल्छा र रञ्जित आचार्य हुन् । उद्योग क्षेत्रमा सक्रिय शेखरले ‘परान’बाट नै निर्माण यात्रा सुरु गरेका छन् । निर्देशक आचार्यकै कथा तथा यम थापाको पटकथा र संवाद रहेको फिल्ममा नीर शाहसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ र बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ ।
यसमा शिवराम श्रेष्ठको डिओपी, मित्र डी गुरुङको सम्पादन र गगन थापा मगरको ब्याकग्राउन्ड स्कोर समावेश छ । काव्यात्मक टिजरले दर्शकहरूबीच सकारात्मक प्रतिक्रिया जन्माइसकेको छ, जसले नेपाली सिनेमामा साहित्यिक तत्वको बढ्दो प्रभावलाई झल्काउँछ ।









