फिल्म । गत फागुन १७ मा अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ रिलिज भयो । अनमोललाई फुटवलरको रुपमा देखाइएको फिल्मले अपेक्षित व्यापार त गर्न सकेन । तर जतिबेला ‘क्याप्टेन’ को डेट तय गरिएको थियो , त्यसबेला त्यस टाइममा ‘जात्रै जात्रा’ थियो । भाद्र ८ गतेलाई वितरकसँग रिलिज डेट तय गर्दै प्रि-प्रोडक्सनको काम थालिएको फिल्मको शुटिङ नसकीएपछी फिल्म उक्त डेटमा रिलिज हुन् सकेन । तर ‘क्याप्टेन’ अगाडी नै ‘जात्रै जात्रा’ ले रिलिज मिति तय गरिसकेको थियो ।
‘क्याप्टेन’ निर्माता भुवन केसीले शुटिङ सकिएपछी रिलिज डेट फागुन १७ तोकेका थिए भने ‘जात्रै जात्रा’ ले स्क्रिप्ट लेखन सुरु गरेसँगै आफ्नो काम सकिने सेड्युल सहित वितरकसँगको सल्लाहमा रिलिज मिति तय गरेको थियो । प्रतिक्षित भनिएका दुइ फिल्म एकै मितिमा आउँदा घाटा दुवैलाई लाग्ने स्वाभाविक नै हो । तर पनि दुवै पक्षले उक्त डेटलाई आफ्नो भन्नेमा कारण सहित प्रष्ट थिए । क्याप्टेनको शुटिङ सकिएपछी राम्रो डेट तोक्नु जायज थियो भने सेड्युल अनुसार योजना बुनिरहेका ‘जात्रै जात्रा’ टिम पनि जायज नै थिए । यी दुइको भिडन्त नहोस भन्ने नै कामना फिल्मकर्मीको मात्र होइन दर्शकको पनि थियो । यतिबेला चैत्र २९ मा रिलिज हुने फिल्मको पनि अवस्था यहि नै छ ।
गत बुधवार निर्देशक झरना थापाको जन्मोत्सवको खुसियाली साट्दै निर्माण पक्षले ‘ए मेरो हजुर ३’ फिल्मको ट्रेलर सार्वजनिक गर्यो । जहाँ निर्मता सुनिलकुमार थापाले आफुले फिल्म नजुधाएको र यात्रा सो मितिमा जुध्न आएको बताए । ‘हामीले अनमोललाई साइन गर्दा नै रिलिज डेट तय गरेका थियौ’ उनले भने ‘हामीलाई सर्नु भन्ने प्रस्ताव आयो तर हामीले घोषणा गरेको डेटबाट किन सर्ने ।’ सुनिलको तर्क आफ्नो ठाउमा ठिकै छ । तर यता ‘यात्रा : म्युजिकल भ्लग’ का निर्माता सुशील पोखरेल पनि आफ्नो फिल्मको लागि राम्रो डेट तोकिएको बताउछन् । ‘हामीले छायाँकन सकेर राम्रो मितिमा डेट घोषणा गरेका हौ’ सुशील भन्छन् ‘उहाको शुटिङ नै सकिएको छैन् , हामीले त सम्पूर्ण काम सकेर रिलिज मिति तय गरेका हौ ।’
दुइ निर्माता सुशील र सुनिलकुमारको तर्क आफ्नो ठाउँमा ठिक नै छ । एउटाले पहिला डेट घोषणा गरेर शुटिङको योजणा बनाए अर्कोले शुटिङ सकेर काम सकिने योजना बनाउदै डेट घोषणा गरे । अवस्था फागुन १७ मै फर्किएको छ । केवल फिल्मका नाम फेरिएका छन् । यात्रामा पछिल्लो समय राइजिङ स्टारको ट्याग पाएका सलिनमान बनिया छन् भने ए मेरो हजुरको तेस्रो सिरिजमा मेगास्टार अनमोल केसी छन् । नेपाली फिल्मनगरीमा सम्भावना बोकेका दुइ कलाकारको फिल्म एकसाथ प्रदर्शनमा आउनु पक्कै राम्रो त होइन , तर यसमा गलत को ? अनि सहि को ?











