‘वीर विक्रम २’ हिन्दी भाषामा

फिल्म । नेपालमा प्रदर्शन भइसकेको फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुने भएको छ । छिमेकी मुलुक भारतमा नेपाली फिल्मको बजार खोज्ने उदेश्यले निर्माता तथा निर्देशकले हिन्दी भाषामा स्वरांकन गरेर प्रदर्शन गर्न लागिएको जानकारी निर्देशक तथा निर्माता मिलन चाम्सले दिएका छन् । फिल्म ओएसआर इन्टरनेसनल नामक युट्युव च्यानल मार्फत प्रदर्शन हुँदैछ । संचालक ओम प्रकाश अग्रवालले डिजिटल माध्यमबाट नेपाली फिल्मको बजार विस्तारमा कदम चालिएको बताए ।

‘साउथ इन्डियन फिल्म पनि युट्युबमार्फत नै नर्थ इन्डियामा लोकप्रिय बनेका हुन् । हामीले पनि राम्रो क्वालिटीमा स्वरांकन गरेर दर्शक माँझ ल्याउदै छौँ । युट्युबमा रिलिज गरेर हिन्दी भाषी दर्शकलाई आकर्षित गर्न सकिन्छ भने सुरू गर्दैछौँ’, संचालक अग्रवालले भने । उनले डिसेम्बर १ मा ‘वीर विक्रम २’ प्रदर्शन भएपश्चात ‘सुश्री सम्पति’ तयार रहेको जानकारी दिएँ । एक हप्तादेखि पन्ध्र दिन भित्रमा दोस्रो फिल्म दर्शकमाँझ पुर्याउने उनको तयारी छ । अन्य पाँच फिल्म समेत स्वरांकनको लागि तयार रहेको उनले बताए ।

वि.सं २०७६ सालमा रिलिज भएको यस फिल्मले बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथा भन्छ । फिल्ममा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी,क्षितिज सुबेदी खत्री लगायतको अभिनय छ।

कमेन्ट गर्नुहोस्