फिल्म । नेपाली फिल्मनगरीमा ‘फर्की फर्की’बाट डेब्यु गरेकी अभिनेत्री समृद्धि अर्यालको दोस्रो फिल्म ‘वरिष्ठ बलराम’ भाइटीकाको दिन पारेर आगामी कात्तिक ६ गतेबाट प्रदर्शनमा आउँदै छ । यो फिल्ममा उनको जोडी अभिनेता विजय बरालसँग बाँधिएको छ । फिल्मप्रति उत्साहित समृद्धिले आफ्नो भूमिका प्रभावशाली रहेको दाबी गरेकी छन् ।
‘फिल्ममा मेरो उपस्थिति महत्वपूर्ण स्थान र समयमा छ । म जहाँजहाँ देखिन्छु, त्यहाँ प्रभावशाली भूमिका रहेको महसुस गर्छु । दुई मुख्य पात्रलाई प्रभाव पार्ने खालको चरित्र निर्वाह गर्न पाएकी छु’, उनले भनिन् ।
दयाहाङ राई र विजय बरालजस्ता अग्रज कलाकारसँग काम गर्न पाएकोमा समृद्धि आफूलाई भाग्यमानी ठान्छिन् । तर, सुरुमा फिल्मको प्रस्ताव आउँदा उनी हच्किएकी थिइन् ।
उनले भनिन्, ‘दयाहाङ र विजयजस्ता अनुभवी कलाकारसँग काम गर्न सक्छु कि भनेर संकोच भएको थियो । पछि यो सिक्ने अवसर पनि हो भन्ने लागेर स्वीकार गरेँ ।’
समृद्धिले ‘वरिष्ठ बलराम’मा आफू ‘शो पिस’ मात्र नभएर प्रभावशाली भूमिकामा रहेको स्पष्ट गरेकी छन् । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्यालसँगै पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरीको अभिनय छ।
निर्देशक पौडेलको कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुति र आन्भी फिल्मसको सहकार्यमा बनेको फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् । मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको यो फिल्म काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।












