फिल्म । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’को प्रदर्शन ५१ औँ दिन पुरा गरेको छ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो फिल्म दशैँको अवसर पारेर गत असोज २६ गतेबाट प्रदर्शनमा आएको थियो ।
शनिवार ५१ औँ दिन पुरा गरेको उपलक्ष्यमा निर्माण टीमले केक काटेर खुसी साटेका छन् । निर्माता राजेश वंशल, अभिनेता तथा गायक प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी लगायतले फिल्मको सफलता साटेका थिए ।
काठमाडौंमा अष्ट नारायण पिक्चर्स, गोपीकृष्ण मुभिज र आइएनआई सिनेमाज वानेश्वरमा चलचित्र प्रदर्शनरत छ । त्यस्तै, बुटवलको मिलन सिनेमा हल, दाङको श्री गणेश सिनेमा हल र भिएफएक्स सिनेमाज, कावासोतीमा रहेको कावासोती सिनेम्याक्स, नेपालगञ्जमा रहेको सिने रोयल, पोखराको श्रीकृष्ण हलमा चलचित्र निरन्तर चलिरहेको निर्माता वंशलले जानकारी दिए ।
घरेलु बक्स अफिसमा यसले ८ करोड हाराहारी ग्रस कलेक्सन गरेको निर्माता वंशलले बताए । युवापुस्तामा रहेको विदेश मोह, त्यसले परिवार र समाजमा पारेको प्रभावको कथामा बनेको फिल्मलाई रमेश बिजीले लेखेका हुन् ।
फिल्ममा वर्षा सिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, नीर शाह, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको समेत चलचित्रमा शीर्ष भूमिका छ । मानकृष्ण महर्जनको छायांकन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।











