प्रधानमन्त्री ओलीले हेरे ‘क्याप्टेन’

फिल्म । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन आरम्भ गर्न लागेको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ हेरेका छन् । रंगहरुको पर्व फागू पूर्णिमाको पहिलो दिन श्रीमती र पितासँग साथमा बसेर उनले राजधानी स्थित सिटी सेन्टरमा फिल्म हेरेका हुन् । फिल्म हेरेर निस्किएपछी उनले विषयवस्तुको तारिफ गरे ।

‘इशानले निभाएको चरित्र राम्रो छ’ उनले भने ‘ खेलाडीलाई हौसला मात्र दिदैन हामीलाई खेलक्षेत्र प्रति सजग पनि गराउछ ।’ उनले मिडियाकर्मीसँग संक्षिप्त कुराकानी गरेका थिए । प्रधानमन्त्रीको कुरा सुनेर छेउमा उभिएका अनमोल केसी दंग थिए । ‘प्रधानमन्त्रीले समय छुट्याएर हाम्रो फिल्म हेर्न आइदिनु भयो साथै उहालाई मन पनि पर्यो , एकदमै खुसि छु’ उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै भने ‘ यो होली मेरो लागि अहिलेसम्मकै बेस्ट होली ।’

अनमोलसँगै निर्देशक दीवाकर भट्टराई, निर्माता भुवन केसी र अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीले पनि प्रधानमन्त्रीसँग साथमा फिल्म हेरेका थिए । प्रधानमन्त्रीसँग नेकपाका नेताहरु विष्णु पौडेल, रघुवीर महासेठ लगायतले पनि फिल्म हेरेका थिए । भुवनले प्रधानमन्त्रीसहित मन्त्रालयका सचिवहरुले फिल्म हेरिदिएकोमा धन्यवाद व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्