फिल्म । ‘दर्पणछायाँ’ जोडीका रूपमा अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंह परिचित छन् । निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको उक्त फिल्मको त्रिकोणात्मक प्रेमकथालाई दर्शकले निकै रुचाएका थिए। त्यसपछि निरुता, उत्तमसँगै अर्का अभिनेता दिलीप रायमाझी पनि अभिनयमा व्यस्त बने।
निरुता र उत्तमले त्यसपछि ‘लहना’, ‘उपहार’ र ‘चीत्कार’ लगायतका फिल्ममा सँगै काम गरे। यो जोडीले पछिल्लोपटक २२ वर्षअघि ‘सन्तान’ फिल्ममा अभिनय गरेको थियो। लामो समयपछि आगामी मङ्सिर ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सारथी’मार्फत उनीहरू पुनः एकसाथ पर्दामा देखिँदैछन्।
यो जोडीलाई पुनः पर्दामा ल्याउने काम निर्देशक कुमार गजुरेलले गरेका हुन्। उनले फिल्मको कथासँगै दुवै कलाकारलाई उनीहरूको अभिनय यात्राकै फरक भूमिका प्रस्ताव गरेका थिए। आफूले यसअघि निर्वाह नगरेको पात्रमा अभिनय गर्न पाउने र पुराना मित्रसँगै सहकलाकार बन्ने अवसर मिलेपछि दुवैले फिल्ममा काम गर्ने सहमति जनाए।
अभिनेत्री सिंहले ‘सारथी’मा आफूले अहिलेसम्म निर्वाह नगरेको भूमिका पाएको बताइन्। ‘यो पात्र मैले कुनै फिल्ममा निर्वाह गरेकी रहेनछु। त्यसैले पनि यो फिल्म गर्ने सहमति दिएँ। हुन त मैले सक्रिय भएर काम गर्दा यस्तो पात्र बन्दैनथ्यो होला, नत्र मलाई पक्कै अफर हुन्थ्यो होला। यो फिल्ममा म आमाको भूमिकामा छु। आमाको भूमिका धेरै फिल्ममा गरेकी छु, तर यो फिल्म हेरेपछि मलाई अहिलेसम्म नदेखेको भूमिकामा देख्नुहुनेछ’, उनले भनिन्।
सिंहले २२ वर्षपछि अभिनेता प्रधानसँग काम गर्न पाउँदा खुसी लागेको पनि बताइन्। ‘उत्तमजीसँग धेरैपछि काम गर्न पाएँ, म निकै खुसी छु। हामीले पुराना दिनलाई सम्झियौँ’, उनले भनिन्।
अभिनेता प्रधानले पनि फिल्ममा अभिनय गर्ने निर्णय लिनुको एउटा कारण अभिनेत्री सिंह रहेको बताए। ‘मलाई केही फिल्मका प्रस्ताव आएका थिए। केहीको कथा सुनेपछि नगर्ने निर्णय लिएँ। तर, यसमा मैले निरुताजीले जस्तै अभिनय यात्राकै फरक भूमिका पाएँ। निरुताजी पनि फिल्ममा हुनुहुन्छ भन्ने थाहा पाएपछि काम गर्ने उत्साह झनै बढ्यो। यसपटक केही फरक महसुस गर्नुका साथै धेरै कुरा सिक्ने अवसर पनि पाएँ’, उनले भने।
फिल्ममा प्रधान अवकाशप्राप्त सैनिकको भूमिकामा देखिएका छन्। उनलाई दुई फरक उमेर समूहमा प्रस्तुत गरिएको छ। ‘सन्तान’पछि निरुता र उत्तमलाई विभिन्न फिल्ममा अभिनयका प्रस्ताव आए पनि दुवैलाई एकसाथ पर्दामा ल्याउन सुहाउँदो कथा तयार हुन सकेको थिएन। आफूहरूलाई उपयुक्त भूमिका प्रस्ताव नभएकै कारण पुनर्मिलन हुन २२ वर्ष लागेको निरुताले बताइन्।
म्याग्दीको दुर्गम गुर्जा गाउँको ग्रामीण परिवेश र जीवनशैलीलाई समेटिएको ‘सारथी’मा आमाछोराबीचको मर्मस्पर्शी संघर्षलाई मुख्य कथाका रूपमा प्रस्तुत गरिएको छ। जीवनयात्राका क्रममा आइपर्ने हरेक उतारचढावमा छोराको सारथी बनेकी आमाको भूमिकामा निरुता सिंह देखिएकी छन् भने छोराको भूमिकामा गिरि विश्वकर्माले अभिनय गरेका छन्।
निर्देशक गजुरेलकै कथा, पटकथा तथा संवाद रहेको फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरि विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय रहेको छ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मको सम्पूर्ण छायाङ्कन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो। फिल्मको छायाङ्कन संकल्प भुजेलले गरेका हुन्।
तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। अमिर केसी लाइन प्रोड्युसर रहेको फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत छ। राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा रहेका छन्।









