गाउँलेको सहरिया भोगाइमा ‘चिसो एस्ट्रे’ (ट्रेलर )

फिल्म । चैत ४ गतेबाट सार्वजनिक हुने फिल्म ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिकभएको छ । काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रममा फिल्मको तीनमिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । दिन्स पाल्पालीले निर्देशन गरेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक पाल्पालीले आफूले भूपि शेरचनको ‘चिसो एस्ट्रे’ शीर्षकको कविताबाट प्रभावितभएर फिल्म तयार गरेको जानकारी गराए । ‘शंकर लामिछानेले विम्बप्रतिविम्ब भन्ने लेखमा भूपिका कविताका बारेमा लेख्ने क्रममा भन्नु भएको छ, भूपिको लेखनको प्रभाव यो पुस्तामा मात्र होइन आउँदा धेरै पुस्तामा देखिन्छ । अब त्यो पुस्तामा म पनि परेँ,’ दिन्सको भनाइथियो ।

उनले गाउँबाट सहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोट झैँ निभ्दै जान्छन् भन्ने विषयलाई प्रस्तुत गरेको जानकारी गराए । फिल्म निर्माता महेशबाबु तिमल्सिनाले भने आफूले नेपालमा हेर्न चाहेका फिल्म बनाउने अभिलाषामा फिल्म निर्माणमा संलग्नभएको बताए । ‘नेपाली फिल्म हेर्दा सधैँ केही न केही छुटे जस्तो भइरहन्थ्यो । नछुट्ने गरी बनाउन त भन्ने सपनामा यो फिल्म तयार भएको हो,’उनले भने, ‘यो फिल्ममा पनि कमजोरी छैनन् भनेर भन्दिन म । तर हामीले एउटा ईंटा थप्ने मनसायले नै यो फिल्म बनाएका छौँ ।’

फिल्मका मुख्य अभिनेता दिव्य देवले फिल्म निर्माणका रोचक कथा सुनाउँदै आफूले गाउँबाट सहर आउने मदन नामको चरित्र निर्वाह गरेको जानकारी दिए । थिएटरबाट फिल्ममा आएका उनले कतिपय फिल्म गर्दा सहकर्मीबीच आत्मीयता स्थापित गर्ने मौका नपाएको स्मरण गर्दै उनले यो फिल्ममा भने त्यो मौका पाएको र सम्पूर्ण सहकर्मीसँग परिवारको जस्तो सम्बन्ध स्थापित भएको स्मरण गरेका थिए । सृष्टि श्रेष्ठले फिल्म भित्र शालीनताको चरित्रको निर्वाह गरेकी छिन् । उनले फिल्ममा काम गर्दा व्यक्तिगत रुपमा पनि आफ्नो व्यक्तित्वमा परिवर्तन महसुस गरेको बताएकी थिइन् ।

फिल्म भित्र सृष्टि इन्स्टेलसन आर्टिस्टको भूमिकामा छिन् ।यसैगरी फिल्मका अन्य अभिनेता सुशील पाण्डे, नविन लम्साल र निकुनश्रेष्ठले पनि फिल्मको हिस्सा हुन पाउँदो खुसी लागेको अनुभव सुनाएका थिए । दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । यसमा सह निर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन्। निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्।

कमेन्ट गर्नुहोस्