‘पुजार सार्की’को सार्वजनिक भिडियोबाट भाइरल भए आर्यन

फिल्म । छायाङ्कनमा रहेको चलचित्र ‘पुजार सार्की’का अभिनेता आर्यन सिग्देलको चरित्र चित्रण हुने भिडियो सोसल मिडियामा भाइरल भएको छ । निर्देशक राउतले आफूले सोचे अनुरूप सार्वजनिक गर्न नपाए पनि दर्शकले सिग्देलको लुक्सबारे चर्चा गरिरहेको देख्दा खुसी नै लागेको बताए ।

२४ सेकेन्ड लामो भिडियोको युट्युब लिङ्क शेयर गर्दै अभिनेता प्रदीप खड्काले ‘पुजार लिक भयो । मैतैलाई पत्ता लगाउनुस्’ भनेका छन् । पञ्चेबाजामा छमछम नाचिरहेका आर्यनले टुप्पी पालेका छन् । उनले ढाका टोपी लगाएका छन् । उनको लुक्स हेर्दा उनी पुजारीको भूमिकामा रहेको अनुमान लगाइएको छ । भिडियो फेसबुकमा पनि भेटिएको छ ।

यति बेला अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको चलचित्र ‘पुजार सार्की’को कास्की जिल्लाको पोखरा नजिकै पर्ने कास्कीकोटमा छायाङ्कन चलिरहेको छ । यस चलचित्रमा अभिनेत्रीद्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् ।

निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए ।

राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन् ।

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक दिनेश लामा (गैँडा) हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहनेछ । यो चलचित्र किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्