वितरक कायस्थले लेखे ‘भुलबस भयो’

फिल्म । शिशिर राणा निर्देशित फिल्म ‘पोइ पर्‍यो काले’ को सेयरलाई लिएर काठमाडौंका वितरकद्वय गोपालकाजी कायस्थ र करण श्रेष्ठबीच भएको विवाद सुल्झिएको छ । वितरक कायस्थले काठमाडौंका प्रायः सबै हलबाट करणले आफूलाई जानकारी नै नगराइ सेयर उठाएको भन्दै नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघको संयुक्त कार्यदलमा बिहीबार निवेदन दिएपछि भएको छलफलले विवाद सल्टाएको हो । वितरक कायस्थले संघमा पुनः निवेदन दिँदै भुलबस निवेदनको तस्विर सामाजिक सञ्जालमा पोस्ट भएको भन्दै वितरक करणसँग माफी मागेका छन् । ‘सेयर रकम उठाइएको बारे संयुक्त कार्यदलमा दिएको निवेदन उपर मैले भुलबस सामाजिक सञ्जालमा पोस्ट गरेको विषयलाई लिएर करण श्रेष्ठमाथि हुन गएको आघातप्रति म दुःखी छु,’ कायस्थको निवेदनमा उल्लेख छ ।

उक्त निवेदनको तस्विर सामाजिक सञ्जाल फेसबुकमा साझेदार गर्दै वितरक करण श्रेष्ठले कायस्थलाई धन्यवाद भनेका छन् । तर, वितरक कायस्थले माफी मागेको निवेदनमा फिल्मको सेयरलाई लिएर उत्पन्न असमझदारी भने टुंगिएको उल्लेख गरिएको छैन । यद्दपी सोहि बैठकमा गोपाल र करण बीच सेयरको कुरालाई लिएर पनि सहमति भएको बुझिएको छ ।

निवेदनको तस्विर सामाजिक सञ्जाल फेसबुकमा साझेदार गर्दै उनले अर्का वितरक करणलाई ट्याग समेत गरेका थिए । तर, उनले केही घण्टामा नै पोस्ट डिलिट गरे । वितरक कायस्थले फिल्मको सेयर रोक्का गर्न भन्दै संघमा दिएको निवेदनको तस्विर सामाजिक सञ्जालमा साझेदार गरेर आफ्नो मानहानी गर्ने प्रयास भएको भन्दै वितरक करण श्रेष्ठ आक्रोशित भएका थिए ।

कमेन्ट गर्नुहोस्