तमिलसँगै तेलुगुमा पनि ‘द कश्मीर फाइल्स’ आउने

फिल्म । प्रदर्शनरत फिल्म ’द कश्मीर फाइल्स’ को चर्चा दिन प्रतिदिन बढ्दो छ । फिल्मले पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले यसलाई चर्चामा ल्याएको हो । यसको प्रभाव व्यापारमा पनि देखिएको छ । प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाखको व्यापार गरेको फिल्मले पहिलो साता एक सय करोडको व्यापार गरेको फिल्मले दोस्रो साताको सुरुवात बाटै राम्रो व्यापार गरिरहेको छ । फिल्मले अहिलेसम्म १ सय ७९ करोड ८५ लाख भारुको व्यापार बक्स अफिसमा गरिसकेको छ । २ सय करोड क्लबमा सजिलै प्रवेश गर्ने फिल्मले यो व्यापार हिन्दी भाषामा मात्र गरेको छ ।

यो रफ्तारले फिल्मको व्यापार तीन सय करोड आसपासमा हुने अनुमान भारतीय फिल्मको ट्रेड विश्लेषण गर्ने विश्लेषकहरुले गरेका छन् । कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ । यो फिल्म प्रति दर्शकको आकर्षण बढेसँगै फिल्म अन्य भाषामा पनि स्वरांकन भएर रिलिज हुने भएको छ । तमिल, तेलुगु , मलयालम, कन्नड भाषामा पनि फिल्मलाई तयार गरेर प्रदर्शन गर्ने तयारी निर्माण पक्षले थालेको छ । नर्थ इन्डियाका सहरहरुमा कमाल गरिरहेको फिल्मले साउथका तमिल र तेलुगु भाषाका फिल्म रुचाउने दर्शकको पनि मन जित्ने विश्वास निर्माण पक्षको छ ।

फिल्म राम्रो भए चल्छ भन्ने उदाहरणलाई यसले नै पछिल्लो समय मुर्तरुप दिएको हो । फिल्मको चर्चा बढेसँगै पछिल्लो समय यसले ट्याक्समा छुट मात्र पाएको छैन, ठुला राजनीतिज्ञले यसले उठान गरेको मुद्दामा बहस सुरु गरेका छन् । विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ । सामाजिक सञ्जालसँगै राजनीतिज्ञहरु, फिल्म र मनोरञ्जन उद्योगमा ’द कश्मीर फाइल्स’ नामले चर्चा पाएको छ । कश्मीरी पण्डितहरू कश्मीरबाट पलायन भएको कथालाई बुनेको यो फिल्म कयौं थिएटरमा हाउसफूलका साथ चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्