फिल्म । बलिउड एक्ट्रेस सन्नी लियोनीको नृत्य रहेको फिल्म ‘पासवर्ड’ को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको‘मेरो नाम सन्नी’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गायिका दुर्गा खरेलको स्वर रहेको गीतमा विक्रम जोशीको शब्द लेखन छ ।
गीतको भिडियोमा सन्नीले बोल्ड ठुम्का लगाएकी छन् । गीतमा सन्नीलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका छन् । गीतको कोरियोग्राफी विष्णु देवाले गरेका हुन्, जो बलिउडका प्रख्यात डान्स कोरियोग्राफर हुन् । गीतमा सन्नीसँग फिल्मका एक्टर बिक्रम जोशी (विक्की) ले पनि नृत्य गरेका छन् । अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङलाई पनि गीतमा देख्न सकिन्छ । ‘गीतमा सक्दो मेहनत गरेका छौ किनकी सन्नीको माध्यमले यो गीत विश्वभर जान्छ’ संगीतकार अर्जुन पोखरेलले भने ‘गीतलाई राम्रो बनाउन कुनै कसर छाडिएको छैन ।’
गायिका दुर्गाले पनि आफ्नो आवाजले सन्नीलाई न्याय गरेको बताइन । ‘राम्रो कमेन्ट पाइरहेकी छु’ उनले भनिन् । ‘पासवर्ड’ को कथा र स्कृनप्लेको माग अनुरुप नै सन्नीलाई गीतमा नृत्य गराइएको निर्देशक सम्राट बस्नेतले बताए । उनले यो फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्म एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता अंकित गौतम हुन् । फिल्ममा सौरभ लामाको छायांकन छ । रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनारलगायतको पनि फिल्ममा अभिनय छ । फिल्म आउँदो भाद्र २७ बाट प्रदर्शनमा आउंदैछ ।