फिल्म । ‘केजीएफ’ शृंखलामार्फत यश आफू मात्र चिनिएनन्, आफ्नो कन्नड फिल्म उद्योगलाई पनि चिनाए । उनै यश नयाँ फिल्म ‘टक्सिक’ मार्फत ४ वर्षपछि पुनः पर्दामा फर्किएका छन् । यशको अभिनय, निर्माण तथा सह लेखन भएकै कारण फिल्म ‘टक्सिक’ विश्वभर प्रतिक्षित बनेको छ । यो फिल्म यशले चाहे अनुसार नै बनेर दर्शकसम्म आइपुगेको छ ।
फिल्मले पहिलो दिन दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ । यद्यपि फिल्मले विश्वभर आक्रामक सुरुआत गरेको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ मा रहेको तथ्यांकअनुसार फिल्मले नेपालमा पहिलो दिन नेपालभर २ करोड ४५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको स्रोतको दाबी छ । स्रोतका अनुसार फिल्मका लागि पहिलो दिन ६९ हजार टिकट बिक्री भएका छन् ।
विदेशी फिल्मले नेपाली बजार गरेको यो कमाइ आक्रामक देखिएको छ । आगामी दिनको व्यापार ‘वर्ड अफ माउथ’ ले निर्धारण गर्ने छ । फिल्मको निर्माता यश आफैं हुन् । उनको प्रोडक्सन कम्पनी मोन्स्टर माइन्ड क्रिएशन्सको ब्यानरमा निर्माण भएको फिल्मलाई गीतु मोहनदासले निर्देशन गरेकी हुन् । सार्वजनिक ‘टक्सिक’ रेलरमा यशसँगै नयनतारा, कियारा आडवाणी, रुक्मिणी वसन्त, तारा सुतरिया, हुमा कुरेसी लगायतका कलाकार देखिएका छन् ।











