ग्रामीण भेगको कथामा ‘द्रौपदी’

फिल्म । नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओड नायकका रुपमा ठूलो पर्दामा देखिँदैछन् । यही चैत ८ गतेदेखि नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन हुने फिल्म ‘द्रौपदी’ मा रवि मुख्य कलाकारका रुपमा देखा पर्दैछन् । सुदूरपश्चिम नेपालको कञ्चनपुरस्थित सामान्य परिवारमा जन्मिएर निकै कठिन र संघर्षपूर्ण सांगीतिक यात्रामा उक्लिएका उनको अभिनय हेर्न शुभेच्छुकहरु व्यग्र प्रतिक्षामा छन् । तर उनले अहिले नै आफूलाई नायक भन्न रुचाएका छैनन् ।

‘म गायक हुँ र अहिले एउटा फिल्मको पात्र मात्र हुँ । नायक भन्नका लागि फिल्म सफल हुनुपर्छ र दर्शकहरुले नायकका रुपमा ग्रहण गर्नुपर्छ,’ उनले भने,‘गीत गाउँदै हिडिरहेको थिएँ, राम्रो कथाको प्रस्ताव आएकाले फिल्म स्वीकारेको हुँ ।’

वाल्यकालदेखि गायनका लागेकाले गीत गाउन कठिन नहुने तर अभिनयमा भने विल्कुलै नौलो अनुभव संगालेको पनि उनले सुनाए । ‘गीत आइरहेको मान्छे एक्कासी फरक सेक्टरमा आउँदा फरक अनुभव हुने रहेछ । क्यारेक्टरमा जम्न निकै समय लाग्यो । दुई घन्टाको फिल्मका लागि ४५ दिनसम्म मेहेनत गर्नुपर्यो । एउटा क्यारेक्टरले जिन्दगी कसरी जिइरहेको छ त्यो जर्नी देखाउन गार्हो पनि रहेछ,’ उनले भने ।

‘द्रौपदीमा मेरो पात्र कुले हो, कुले क्यारेक्टरमा बसिरहन मलाई धेरै गार्हो भयो । द्रौपदी आफैंमा भारी शिर्षक छ । यसमा उठाइएका विषयहरु हाम्रो समाजमा रहेका देउकी प्रथा, सती प्रथा, बहुपति प्रथाको सेरोफेरो समेटिएको छ । यसको विषयवस्तु राम्रो छ । नारी शसक्तीकरणको आवाजलाई देखाउन खोजिएको छ,’ उनले भने,‘लभ र एक्सन हेरिरहेका दर्शकहरुलाई ग्रामीण भेगको कथा समेटिएको छ । पक्कै नयाँ टेस्ट छ । द्रौपदी भन्ने महिला पात्रलाई अगाडि ल्याएर नारी शक्तिकरणको कथा बोकेको प्रभावकारी फिल्म बनेको छ ।’

कतिपय शुभेच्छुकहरुले ट्रेलर र टिजर हेरेर धन्यवाद पाएको सुनाउँदै उनले भने,‘ अभिनय राम्रो देखिएको छ भनेर धेरैले प्रोत्साहन गरेका छन् ।’ फिल्ममा ‘कर्णाली काटम्ला माया पिरिम सँगै साटम्ला’ गीत सुन्दा नै फिल्मको स्टोरी बुझ्न सकिने पनि उनले बताए ।

द्रौपदीमा आफ्नो पात्रलाई मन पराएको खण्डमा गायनसँग अन्य फिल्मको अभिनयमा केन्द्रीत हुनेपनि उनले सुनाए । ‘कुनैपनि सिनेमामा म अगाडि जान सक्छु, आफूलाई त्यो पात्रमा ढाल्न सक्छु भन्ने हिम्मत छ । सुरुको सिनेमा गरौं कि नगरौं भन्ने थियो भने अहिले सक्छु भन्ने आँट छ,’ उनले भने । हालपनि केही फिल्मको स्क्रीप्ट अध्ययन गरिरहेको उनले बताए ।

ऋषिराज आचार्यको निर्देशनमा तयार भएको फिल्ममा स्थानीय कला, संस्कृति, सभ्यतासँगै ठूलीभेरी, सुलीगाड, तरापखोला र जगदुल्ला नदीलाई देखाइएको छ । त्रिपुरासुन्दरी देवीको मन्दिरसँगै शे-फोक्सुन्डोलगायत फिल्ममा हेर्न पाइने ओडले बताए । फिल्ममा डोल्पासँगै मनाङ, मुस्ताङ पनि समेटिएको छ । आश्विनी शाही र रविले फिल्ममा डेब्यु गरेका हुन् । फिल्मा सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारीलगायत कलाकारले अभिनय गरेका छन् । त्यस्तै सौरभ शर्माले पाश्र्वसङ्गीत सृजना, अनिल महर्जनले सम्पादन, विजय आचार्यले कला तथा मोहन झिल्लुले छायाङ्कन गरेका छन् ।

कमेन्ट गर्नुहोस्