२६ भाग पुग्यो ‘कमेडी क्लब विथ च्याम्पियन्स’

टिभी । नेपाल टेलिभिजनबाट तथा ओएसआर डिजिटलबाट प्रशारण भईरहेको कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’को टिमले सफलताको सेलिब्रेशन गरेको छ । शो प्रशारणको २६ भाग पुगेको अवसरमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै केक काटिएको हो । शोका निर्देशक विशाल भण्डारीले सुरुवातमा युट्युबमै भ्यूज नपाउँदा समस्या भएपनि अहिले हरेक शो १० लाख भन्दा बढीले युट्युबमा हेरेको भन्दै उनले नयाँ नयाँ सोचका साथ शोलाई अगाडि बढाउने बताए ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुगेका हाँस्य कलाकार दीपकराज गिरीले भने–‘पहिलो भागमा म अतिथीको रुपमा पुगेको थिएँ । सो समयमा कलाकारहरुले मलाई हसाँउन सकेनन् । तर, अहिले शो गज्जब तरिकाले अगाडि बढिरहेको छ । यो शोमा सहभागी भाइबहिनीहरुको प्रगति देखेर खुशी लागेको छ ।’ यस्तै, शोकी अध्यक्ष दीपाश्री निरौलाले पनि नयाँ पुस्ताले कमेडीलाई नयाँ तरिकाले अगाडि बढाएको भन्दै खुशी व्यक्त गरिन् । उनले, शोमा काम गर्दा पारिवारिक वातावरणमा रमाइलो शैलीमा काम गर्ने गरेको पनि खुलाइन् ।

यो शोमा सुमन कार्की, कैलास कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, विक्की अग्रवाल, मेक्सम गौडेलले आफ्नो प्रस्तुति दिदै आएका छन् । सफलता सेलिव्रेशन कार्यक्रममा सबै कलाकारहरुले दर्शकले दिएको माया कारण हरेक साता केही नयाँ गर्न मन लाग्ने सुनाए ।

कमेन्ट गर्नुहोस्