‘पुजार सार्की’ : दर्शकले रुचाए ‘कन्टेन’ र ‘स्टार’ को समिश्रण

फिल्म । बुद्ध जयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म ‘पूजार सार्की’ले घरेलु बक्स अफिसमा सुखद सुरुआत गरेको छ । बिहान ५० प्रतिशत हाराहारी अकुपेन्सी कायम गरेको फिल्मको दिउँसो र रात्रिकालिन प्रायः शोजमा फिल्मको शतप्रतिशत अकुपेन्सी रह्यो । काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर यसका कलाकार तथा निर्माण पक्षले प्रतिक्रिया दिएका थिए । फिल्मले मल्टिप्लेक्ससँगै बालाजुस्थित अष्टनारायण हलको मध्यान्ह साढे ४ बजेको शोजमा तीनवटा हल हाउसफुल भएका थिए । जसमा एक हजारभन्दा बढी दर्शकको उपस्थिति थियो ।

दर्शकहरुसँग साक्षात्कार गर्न फिल्मका तीन ‘स्टार’हरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह विभिन्न हलमा पुगेका थिए । प्रदीप आफ्नो स्टारडमको छायाँबाट निस्किदा पनि ‘प्रकाश’ झैँ दर्शकको माया पाउँदा निकै उत्साहित रहेको बताए ।

‘फिल्म हेरेर निस्किदा दर्शक सन्तुष्ट हुनुहुन्छ । त्यो नै हाम्रो सफलता हो । फिल्म राम्रो बनेकाले यो लामोसमयसम्म रहन्छ भन्नेमा विश्वस्त छु । यसले दिएको संदेश अहिले सामान्य लागे पनि कालान्तरमा यो प्रभाव छाड्ने फिल्म हो’, अभिनेता खड्काले भने ।

अर्का अभिनेता आर्यन सिग्देलले फिल्ममा ‘पुजार’ को भूमिका निर्वाह गरेका छन् । समाजमा जातीय र वर्गीय विभेद गर्न लड्ने पात्रको रुपमा चित्रित आर्यनले धेरै समयपछि यस किसिमको भिडभाडमा पुगेर दर्शकसँग साक्षात्कार गरेका हुन् । फिल्मका वितरक रोहित कट्टेलले फिल्मको बिहीबारको कलेक्सन एक करोडमाथि हुने आँकलन गरेका छन् ।

दिनेश राउतको निर्देशनमा तयार भएको फिल्ममा प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य लगायतको अभिनय रहेको छ ।

लेखक विकास सुवेदी, निर्माता सुवास भुसाल फिल्मलाई कुनै सम्झौता नगरी बनाएको बताउछन् । जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई प्रस्तुत गरिएको फिल्ममा तारा शर्मा, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ।

सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दै छ। डिजिटल वितरण ओएसआर डिजिटलले गरेको छ।

फिल्ममा हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द्र बराल र मुना थटालले स्वर दिएकाछन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्