कलेजदेखि रियालिटी शोसम्म ‘बहाव’

फिल्म। आउँदो साता चैत २४ बाट प्रदर्शन हुने फिल्म ‘बहाव’ ले प्रचारप्रसारलाई तिब्रता दिईरहेको छ। डिजिटल र भौतिक माध्यमले दर्शकसम्म फिल्म बारे जानकारी पुर्याईरहेको निर्माण टिमले रियालिटी शोमार्फत पनि प्रचारप्रसार बढाईरहेको छ। शुक्रबारसम्म काठमाडौं उपत्यकाको विभिन्न क्याम्पसमा पुगेर फिल्म बारे जानकारी दिएको टिम टेलिभिजन कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’मा पुगेका छन् । निर्देशक प्रमोद कँडेल, निर्माता श्रीधर पौडेल र कलाकारद्वय सुरक्षा पन्त तथा कमलमणि नेपाल शोमा पुगेर फिल्मको बारेमा जानकारी गराए।

शोपछि सञ्चारकर्मी तथा पत्रकारसँग कुरा गर्दै निर्देशक तथा कलाकार दीपाश्री निरौलाले फिल्म ‘बहाव’ हेरिदिन आग्रह गरे । फिल्मको ट्रेलरमा देखिएको सुरक्षाको विद्रोही स्वभावको खुलेर प्रशंसा गरे । ‘ट्रेलरमा सुरक्षालाई एउटा विद्रोही केटीको भूमिकामा देखाइएको छ । उसले प्रत्येक फिल्ममा आफूलाई परिवर्तन ल्याइरहेको छ । यो उसका लागि प्लस प्वाइन्ट हो’, दीपाश्रीले भनिन्, ‘किनभने सुरक्षा जे हो, त्यो भन्दा फिल्ममा फरक देखिनु पनि आफैंमा सकारात्मक कुरा हो ।

उनले आम नेपाली फिल्मभन्दा ‘बहाव’ फरक रहेको दाबी गरिन् । ‘निर्माता श्रीधरजी नेपाली फिल्ममा फरक कथा दिन चाहनुहुन्छ । योभन्दा अघिका उहाँका फिल्मले पनि त्यो प्रमाणित गरिसकेको छ’, दीपाश्रीले भनिन्,‘मलाई लाग्छ बहाव पनि नेपाली फिल्ममा केही परिवर्तन ल्याउनकै लागि बनाइएको हो ।’ उनले फिल्मको ट्रेलरसँगै सुरक्षाको कामले पनि मोहित बनाएको बताइन् ।

फिल्ममा अभिनेत्री पन्तसँगै कमलमणी नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।‘जिज्ञाषा, विचार अनि यथार्थको कथा’ मा आधारित फिल्मका निर्माता पौडेलले यसअगाडी नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए ।

यसमा सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत, सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ । फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जीत क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिनेजोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ ।

कमेन्ट गर्नुहोस्