कस्तो छ तीन फिल्मको व्यापार ?

फिल्म । दसैँको फूलपातीदेखि प्रदर्शनमा आएका तीन नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ ले घरेलु बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस @सिनेपा’ एपका अनुसार यी फिल्महरूको दुई दिनको व्यापार (ग्रस कलेक्सन) अघिल्ला वर्षको तुलनामा सुरुआती दिनमा कम देखिएको छ ।

सन्तोष सेनद्वारा निर्देशित फिल्म ‘बलिदान’ ले दुई दिनमा १ करोड ५ लाख ६५ हजार रुपैयाँ ग्रस व्यापार छ । पहिलो दिन (असोज १३) २ सय ४४ शोबाट ५७ लाख १९ हजार ३४० रुपैयाँ र दोस्रो दिन (असोज १४) २ सय १३ शोबाट ४८ लाख ४६ हजार रुपैयाँको व्यापार गरेको हो । फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायतका कलाकारको अभिनय रहेको छ।

दीपेन्द्रकुमार खनालद्वारा निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ ले दुई दिनमा ५९ लाख ५८ हजार रुपैयाँ ग्रस व्यापार छ। पहिलो दिन (असोज १३) १ सय ३४ शोबाट २४ लाख ८५ हजार ६४ रुपैयाँ र दोस्रो दिन समान १ सय ३४ शोबाट ३४ लाख ७३ हजार रुपैयाँ ग्रस व्यापार गरेको हो । फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् । हरिवंशले टेलिशृङ्खला र रङ्गमञ्चमा चर्चित पात्र ‘हरिबहादुर’लाई यसपटक फिल्ममा प्रस्तुत गरेका छन् ।

मिलन तामाङद्वारा निर्देशित र रोहित अधिकारीद्वारा निर्मित फिल्म ‘माइतीघर’ ले दुई दिनमा ३८ लाख ६३ हजार रुपैयाँ ग्रस व्यापार गरेको छ । पहिलो दिन (असोज १३) १ सय ४४ शोबाट १८ लाख ९६ हजार ४५५ रुपैयाँ र दोस्रो दिन १ सय ३० शोबाट १९ लाख ६७ हजार रुपैयाँ ग्रस व्यापार गरेको छ। फिल्ममा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपूतलगायतका कलाकारको अभिनय रहेको छ । पछिल्ला वर्षहरूमा दसैँमा नेपाली फिल्मको व्यापार राम्रो हुने गरेको भए पनि यसपटक यी तीन फिल्मले अपेक्षित दर्शक तान्न नसकेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्