‘राम नाम सत्य’को सुखद सुरुआत

फिल्म । नयाँ वर्षलाई लक्षित गर्दै प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ले सुरुवाती दुई दिनमै सुखद ओपनिङ गरेको वितरकले जानकारी दिएका छन् । माइकल चन्दको निर्देशनमा तयार भएको यस फिल्मको एक्सन, कथावस्तु र कलाकारहरूको अभिनयलाई दर्शकले रुचाएका छन् । केही दर्शकले फिल्मको एक्सनलाई बलिउड फिल्मसँग समेत तुलना गरेका छन् ।

शनिबार अभिनेता विराज भट्ट काठमाडौंका विभिन्न हलमा पुगेका थिए। काठमाडौंको अष्टनारायण हलमा करिब १,२०० भन्दा बढी दर्शकमाझ उनी घेरिएका थिए। एक हजार सिट क्षमताको हल भरिएपछि थप ५०० सिटको अर्को हलमा पनि फिल्म प्रदर्शन गरिएको थियो। विराज पुग्दा दर्शकले हुटिङ गर्दै उत्साहजनक स्वागत गरेका थिए।

उपेन्द्र शाही र स्वेता बिमलीको निर्माणमा तयार भएको यस फिल्म हेरेर बाहिरिएका दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। यसले अभिनेता विराज भट्ट पनि उत्साहित देखिएका छन्। उनले सुरुवाती दुई दिनको व्यापारप्रति सन्तुष्टि व्यक्त गर्दै दर्शकको साथले आफूहरूलाई थप ऊर्जा मिलेको बताए।

निर्माणपक्षले नयाँ वर्षको दिनमा दर्शकको उपस्थिति अझ बढ्ने अपेक्षा गरेको छ। काठमाडौं बाहिरका क्षेत्रमा पनि फिल्मको व्यापार सन्तोषजनक रहेको वितरक कुवेर फिल्म्सले जनाएको छ।

फिल्ममा विराज भट्टसँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनील थापा, प्रशान्त ताम्राकार, आयुष सिंह ठकुरी र खुशी कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ।

माइकल इन्टरटेनमेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन्। सह–निर्मातामा तेजराज चटौत र दमनबहादुर चन्द रहेका छन्।

मोती कार्की क्रिएटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्युसरका रूपमा छन्। फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत रहेको छ।

मानकृष्ण महर्जनको डीओपी रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन र काला चरणको ब्याकग्राउन्ड म्युजिक रहेको छ। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा शेरबहादुर लामाको छायांकन छ।

कमेन्ट गर्नुहोस्