दर्शकले रुचाए ‘बाः एक योद्धा’

फिल्म । नेपाली फिल्म ‘बाः एक योद्धा’ले प्रदर्शनको सुरुवातसँगै दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म हेरेपछि दर्शकले अभिभावकले आफ्ना सन्तानलाई पनि फिल्म देखाउनुपर्ने प्रतिक्रिया दिएका छन्।

दर्शकले आफ्नो अधिकार खोज्ने तर दायित्व बिर्सिने सन्तानका लागि ‘बाः एक योद्धा’ले पारिवारिक जिम्मेवारी र अभिभावकप्रतिको दायित्व सम्झाउने सन्देश दिने बताएका छन्। अभिभावकले समय निकालेर आफ्ना सन्तानलाई फिल्म देखाए त्यसको प्रभाव उनीहरूको पारिवारिक जीवनमा समेत पर्न सक्ने दर्शकको भनाइ छ।

विशेषगरी बुवाआमाबाट टाढा बसेका सन्तानलाई ‘बाः एक योद्धा’ हेर्न दर्शकले आग्रह गरेका छन्। फिल्मले सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई कथाको मुख्य विषय बनाएको छ। सन्तानका इच्छा पूरा गर्न बुवाआमाले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले भोग्नुपर्ने दुःख र एक्लोपनलाई पनि फिल्मले प्रस्तुत गरेको छ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। फिल्मको कथा र पटकथा पनि निर्देशक लम्सालकै हो। फिल्ममा दिव्य देव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकार मुख्य भूमिकामा छन्। वसन्त लम्साल निर्माता रहेको फिल्ममा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन्।

कमेन्ट गर्नुहोस्