फिल्म । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘माया भनेकै यस्तो होला’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको छ भने स्वर प्रशान्त शिवाकोटी र विज्ञानी पराजुलीले दिएका छन् । गीतले पहिलो भेटमै अंकुराएको प्रेम, त्यसपछिको कल्पना र त्रिकोणात्मक प्रेम सम्बन्धलाई प्रस्तुत गरेको छ।
गीतको भिडियोमा एक युवक र तीन युवतीबीचको प्रेम सम्बन्धलाई चित्रण गरिएको छ, जसले फिल्म प्रेमकथामा आधारित रहेको संकेत गर्छ। भिडियोमा दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहको अभिनय देख्न सकिन्छ। गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन्। फिल्मको निर्देशन अभिनेत्री रेखा थापाले गरेकी छन्। ‘हिम्मतवाली’ र ‘मालिका’पछि यो उनको तेस्रो निर्देशकीय फिल्म हो।
‘दिया एण्ड अमु फिल्म्स’को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहारी, संगम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारको अभिनय रहेको छ।
ध्रुव लम्सालको पटकथा रहेको फिल्मले प्रेमकथामार्फत सामाजिक भावनालाई प्रस्तुत गर्ने निर्माण टिमले जनाएको छ। हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता रहेको फिल्मको छायांकन सुदीप बरालले गरेका छन्।
फिल्ममा प्रमुख सहायक निर्देशक अनिरुद्ध आत्रेय, संगीत प्रशान्त शिवाकोटी, ड्रेस डिजाइन सुजेनी मल्ल, मेकअप प्रिया कार्की र प्रोडक्सन सुमन तिवारीको रहेको छ। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन्।










