फिल्म । आफुले पाएको भूमिकालाई जीवन्त बनाएकै कारण चर्चामा आउने गर्छन् , विपिन कार्की र दयाहाङ राई । नेशनल अवार्ड विनर समेत रहिसकेका विपिन र दयाले पहिलो पटक ‘लूट’ मा एकसाथ स्क्रिन शेयर गरेका थिए । त्यसपछि ‘लूट २’ र ‘जात्रै जात्रा’ पनि यिनीहरु एकसाथ देखिसकेका छन् । यद्दपी यी दुइलाई हेर्ने चाहना अझै पनि दर्शकको छ । आउँदो एक फिल्ममा विपिन र दयाले एकसाथ काम गर्ने भएका छन् । बुझीए अनुसार दयाले फिल्म साइन गरिसकेका छन् भने विपिन पनि मौखिक रुपमा तय भईसकेका छन् ।
आउँदो केहि हप्तामै छायाँकन गर्ने तयारी भईरहेको फिल्म सामाजिक विषय वस्तुमै केन्द्रित रहनेछ । उनीहरुले सिङ्गे लामाको निर्माण रहने फिल्म ‘के घर के डेरा’ मा अभिनय गर्न लागेका हुन् । यसलाई सुव्रतराज आचार्यले निर्देशन गर्दैछन् । फिल्मको स्क्रिप्टलाई सफल केसी र प्रतिक गुरुङले संयुक्त रुपमा तयार पारेको समेत बुझिएको छ । यद्दपी यस विषयमा सुव्रतले केहि बाताउन चाहेनन् । ‘हामी केहि दिनमा फिल्मको बारेमा जानकारी गराउने छौ’ उनले भने । फिल्मको नाम ‘के घर के डेरा’ राखिएको छ । यसमा रहने अन्य कलाकारहरु र फिल्मको बारेमा केहि दिनमा जानकारी गराउने निर्माण टिमले बताएका छन् ।