लक्ष्मणको ‘काजी’ मा विपिन र केकी

फिल्म । निर्देशक लक्ष्मण रिजालको निर्देशनमा बन्न लागेको फिल्म ‘काजी’को शुभमुहूर्त सम्पन्न भएको छ । शुक्रबार दक्षिणकाली मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गरिएको हो । शुभमुहूर्तसँगै निर्माण टोली छायांकनका लागि स्याङ्जा प्रस्थान गरेको छ । निर्देशक रिजालले भदौ ८ गते आइतबारदेखि फिल्मको छायांकन सुरु हुने बताए । करिब ८ वर्षपछि यो फिल्ममार्फत निर्देशनमा फर्किएका रिजालले आफूले खोजेजस्तो स्क्रिप्ट पाएकाले पुनरागमन गरेको बताए ।

उनले यसअघि ‘कसम’, ‘धुँवा यो नशा’, ‘अलविदा’, ‘कायरा’ जस्ता फिल्म निर्देशन र ‘डिसेम्बर फल्स’ तथा ‘गणपति’ निर्माण गरेका थिए । आरएण्डआर प्रोडक्सनको ब्यानरमा बन्न लागेको यो सामाजिक प्रेमकथामा आधारित फिल्मको निर्माता रामप्रसाद रिजाल हुन् । उनले यसअघिका फिल्ममा देखिएका कमजोरी सुधार्दै उत्कृष्ट फिल्म बनाउने प्रतिबद्धता व्यक्त गरे ।

छायांकनका लागि स्याङ्जामा लाखौं खर्चेर एउटा गाउँको सेट निर्माण गरिएको उनले बताए । फिल्ममा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । अन्य कलाकारको विवरण क्रमशः सार्वजनिक गरिने निर्माण टोलीले जनाएको छ । प्रदीप भारद्वाजको लेखन रहेको यो फिल्मलाई चिन्तनराज भण्डारीले खिच्दैछन् । कालिप्रसाद बास्कोटाले गीतसंगीत तयार पारेका छन् भने सुनिल मानन्धरको श्रीराम बालाजी फिल्म्सले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्