‘बलिदान’ लाई उन्छिन्दै अगाडि बढ्यो ‘हरिबहादुरको जुत्ता’

फिल्म । गएको फूलपातीदेखि प्रदर्शनरत फिल्म ‘हरिबहादुरको जुत्ता’ले दर्शकको उत्साहजनक साथ पाएको छ । बलियो वर्ड अफ माउथका कारण यो फिल्म रिलिजको सुरुदेखि नै अधिकांश शो हाउसफुल छन् । रिलिजको समयमा तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका थिए, तर ‘हरिबहादुरको जुत्ता’ले कम शो पाएको थियो । अन्य दुई फिल्म ‘बलिदान’ र ‘माइतीघर’ ले क्रमशः २ सय ४४ र १ सय ४४ शो पाउँदा यो फिल्मले १ सय ३४ शो मात्र प्राप्त गरेको थियो । तर, रिलिजको सातौँ दिनसम्म आइपुग्दा यो फिल्मले तीन नेपाली फिल्ममध्ये सर्वाधिक १ सय १७ शो प्राप्त गरेको छ ।

अन्य दुई फिल्म ‘बलिदान’ र ‘माइतिघर’ले क्रमशः १ सय ७ र ७७ शो पाएका छन् । सुरुमा साना हलमा प्रदर्शन भएको यो फिल्म अहिले ठूला सिट क्षमता भएका हलमा सरेको छ । विदेशी फिल्मले शो संख्यामा केही प्रभाव पारे पनि ‘हरिबहादुरको जुत्ता’ले पहिलो हप्तामै तेस्रो स्थानबाट पहिलो स्थानमा छलाङ मारेको छ ।

यसले फिल्मको बलियो वर्ड अफ माउथलाई प्रष्ट्याउँछ । दर्शकको साथ र सकारात्मक प्रतिक्रियाले यो फिल्म लामो समयसम्म दर्शकको रोजाइमा रहने पक्का छ । दीपेन्द्र के. खनालद्वारा निर्देशित यो फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्मित यो फिल्मका निर्माता सरोज ओली र मोहितबंश आचार्य हुन् । कृष्ण बहादुर थापाले छायांकन गरेको फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन् ।

कमेन्ट गर्नुहोस्