यसकारण हिमालले रिमेक गरे ‘न मैले लेखें, न उनले लेखिन’

सङ्गीत । गायक हिमाल सागरले आफूलाई स्थापित गर्ने गीत ‘न मैले लेखें, न उनले लेखिन’ लाई नयाँ भर्सनमा तयार गरेर सार्वजनिक गरेका छन् । ‘रिलेसन’ एल्बममा समावेश उक्त गीतले गायक हिमाललाई स्थापित गर्यो । उनकै स्वर र सङ्गीत रहेको गीत २०६० सालमा सार्वजनिक भएर लोकप्रिय भएको थियो । उनले अडियोमा उही मिठास कायम गर्दै केही परिवर्तन गरेका छन् भने भिडियोलाई म्युजिकल फिल्म बनाएका छन् ।

उनले यही गीतलाई रिमेक गर्नु वा नयाँ स्वरूप दिनुको कारण भने भिन्न छ । ‘कन्सर्टमा म देश होस् वा विदेश सबै भन्दा बढी गीत यही गाएको छु । यो गीतलाई अहिलेको मर्म र भाव अनुसार तयार गरेको छु । पहिलाको भन्दा मेलोडी फास्ट छ, कोरस गायन थपिएको छ, एरेञ्जमा फरक गरेका छौँ, यो अहिलेको प्रविधियुक्त आधुनिक शैलीमा तयार गरिए पनि मिठास भने उही नै छ’, गायक हिमालले भने ।

गीतमा मानस केसीको शब्द रहेको छ भने योगेश काजी शाहले एरेञ्ज गरेका हुन् । यही गीतमार्फत स्थापित भएका गायक हिमाल सागरले तात्कालिन समयमा एक लाख पचास हजार भन्दा बढी अडियो क्यासेट बिक्री भएको जानकारी दिए । उनको ‘मेरो माया मारेपछि’,‘तिमीले माया नगरे’,‘मेरो मनमा आगो लाउने को’,‘तीन ढिके फूली लाएर आइछौ’,‘कल्लाई थाहा छौँ’ लगायत गीतहरू अहिले पनि उत्तिकै लोकप्रिय छन् । सात वटा एकल एल्बम सार्वजनिक गरिसकेका गायक हिमाल सागरले साङ्गीतिक कार्यक्रमका लागि ६५ वटा भन्दा बढी देश भ्रमण गरिसकेका छन् ।

उनले भने,‘मलाई उक्त समयमा स्थापित गर्ने गीतले नयाँ पुस्ताको मन जित्नेमा विश्वस्त छु । यो प्रेममा व्यक्त गरिएको भावना हो, जुन कहिले पुरानो हुदैन । यो गीत जोडिएको मनसँग भावनात्मक सम्बन्ध गास्नेछ ।’ म्युजिकल फिल्ममा गायक हिमालसँगै अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छिन् । म्युजिकल फिल्ममा निकेश खड्काको निर्देशन, धीरजजङ्ग शाहको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको छ । भुवन गिरी, प्रज्वल गिरी र रुपेश थापाद्वारा निर्मित ‘न मैले लेखें, न उनले लेखिन’ बोल रहेको गीतको भिडियो नेपाल रिदम रेकर्ड्स (एनआरआर) बाट सार्वजनिक गरिएको छ ।

कमेन्ट गर्नुहोस्