फिल्म । निर्देशक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन विनाको धन २’ मा अभिनेता विपिन कार्की अनुबन्ध भएका छन् । पूजा शर्मा र महेश त्रिपाठीपछि विपिनको प्रवेशसँगै फिल्मको कलाकार लाइनअप थप बलियो बनेको छ । छायांकनको तयारीमा रहेको फिल्ममा विपिनको भूमिका भने निर्माण टिमले गोप्य राखेको छ ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा टंक बुढाथोकीको कथा तथा निर्देशन रहेको छ भने शिवम् अधिकारीले पटकथा तथा संवाद लेखेका छन् । हाल फिल्मको प्रि-प्रोडक्सनको काम तीव्र रूपमा भइरहेको छ । यसअघि नै पूजा शर्मा, महेश त्रिपाठी, सरोज खनाल र किरण केसी फिल्मका लागि अनुबन्ध भइसकेका छन् ।
पूजा शर्मा र विपिन कार्की पहिलो पटक एउटै फिल्ममा स्क्रिन साझेदारी गर्न लागेकाले उनीहरूको जोडीप्रति दर्शकमाझ उत्सुकता बढेको छ । गत वर्ष प्रदर्शनमा आएको ‘मन विनाको धन’ ले बक्स अफिसमा करिब चार करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । पहिलो भागको सफलतापछि निर्देशक बुढाथोकीले ‘मन विनाको धन २’ लाई अझ भव्य र सशक्त रूपमा निर्माण गर्ने तयारी गरिएको बताएका छन्।








