‘तेस्रो राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्ड २०८२’ को फारम खुला

सङ्गीत । ‘तेस्रो राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्ड २०८२’ को फारम खुला भएको छ । आयोजक संस्था क्वालिटी फिल्म्स प्रा.लि.ले मङ्गलबार यो अवार्डको तेस्रो संस्करणको फारम खुला भएको घोषणा गरेको हो । लगातार दुई संस्करणको सफलतापछि तेस्रो संस्करणको तयारी तीव्र गतिमा भइरहेको छ । आयोजक टिमका अनुसार अवार्डको तयारी सुरु भइसकेको छ र २० साउन मङ्गलबारदेखि फारम खुला गरिएको छ । यो अवार्डमा २०८१ वैशाख १ देखि २०८२ असार मसान्तसम्म प्रकाशित गीत–सङ्गीत र फिल्मका कलाकार, प्राविधिक र सम्बन्धित विधाले सहभागिता जनाउन सक्नेछन् ।

आयोजक टिमका अध्यक्ष उमेश गुरुङका अनुसार यसपटक पनि आदिवासी जनजातिका गीत–सङ्गीत, कथानक फिल्म, लघु फिल्म र टेलीफिल्मलाई लक्षित गरी अवार्ड आयोजना गरिएको छ । फारम भर्ने अन्तिम मिति भदौ १० गतेसम्म तोकिएको छ । मनोनयन सूची १३ भदौमा अनलाइनमार्फत सार्वजनिक गरिनेछ भने अवार्ड समारोह ३० भदौमा आयोजना गर्ने लक्ष्य छ । फारम भर्ने कार्य मङ्गलबारदेखि सुरु भएको छ ।

फारम बिलक्षण क्रिएसन प्रा.लि.को पुतलीसडक र क्वालिटी फिल्म्स प्रा.लि.को लैनचौरस्थित कार्यालयबाट लिन सकिन्छ ।अध्यक्ष गुरुङका अनुसार गीत–सङ्गीत र फिल्म दुवैतर्फ शेर्पा, थकाली, गुरुङ, मगर, थारु, दनुवार, दराई, माझी, नेवारी, तामाङ, दुरा, राई/सुनुवार, मैथिली, लिम्बू, राजबंशी, भोजपुरी, मारवाडी, अवधी, डोल्पेली, चेपाङलगायतका आदिवासी–जनजातिका मातृभाषा र संस्कृतिमा आधारित नेपाली भाषामा रेकर्ड भएका गीत–सङ्गीत तथा उल्लेखित भाषामा निर्मित फिल्म, टेलीफिल्म, वृत्तचित्र र लघु फिल्मले आ–आफ्नो विधामा सहभागिता जनाउन सक्नेछन् ।

गीत–सङ्गीततर्फ गीत, गायक, गायिका, नवगायक/नवगायिका, गीतकार, सङ्गीतकार, सङ्गीत संयोजक, म्युजिक भिडियो निर्देशक, मोडल (पुरुष/महिला), नवमोडल (पुरुष/महिला), छायाकार, सम्पादक, सृङ्गार, भेषभूषा, मिक्सिङ, वाद्यवादनलगायतका विधा समावेश छन् । त्यस्तै, फिल्मतर्फ फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, चरित्र अभिनेता/अभिनेत्री, खलनायक, सङ्गीतकार, सङ्गीत संयोजक, गीतकार, गायक/गायिका, छायाकार, सम्पादक, पाश्र्व सङ्गीतकार, सृङ्गार, भेषभूषा, रङ्ग संयोजनजस्ता विधाका सर्जक, कलाकार र प्राविधिकले अवार्ड प्रतिस्पर्धाका लागि फारम भर्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्