फिल्म । पछिल्लो समय नेपाली फिल्मको राम्रो गन्तव्य बन्दै गरेको जापानको टोकियोमा सूर्य इन्टरनेशनल अवार्ड २०१८ र १९ सम्पन्न गरिसकेपछि आयोजक संस्था तेस्रो संस्करणको तयारीमा जुटेको छ । आयोजक संस्था सुर्य कर्पोरेशन र यसका अध्यक्ष बाशुदेव लामिछानेले तेस्रो संस्करण अझै भव्य हुने जनाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत अवार्डको घोषणा नेपालमा , टप ३ लाई सर्टिफिकेट वितरण टोकियो जापान र अवार्ड न्युयोर्क अमेरिकामा हुने जनाएका छन् । नेपाली फिल्म प्रदर्शन र म्युजिकल इभेन्ट गर्दै आएका लामिछानेले सन् २०१८ बाट सुरुवात गरेको यो अवार्डलाई डायस्पोरामा हुने ठुलो अवार्ड मध्ये एक मानिन्छ ।
साकुरा नाईटसँगै विभिन्न कार्यक्रम गर्दै नेपाली कला संस्कृतिलाई टेवा पुर्याउदै आइरहेको सुर्य कर्पोरेशनका अध्यक्ष लामिछानेले कोरोना महामारीको कारण ठप्प झैँ बनेको नेपाली फिल्मनगरीलाई पनि यसले थोरै भएपनि टेवा पुग्ने विश्वास व्यक्त गरे । अवार्डसँगै अन्य गतिविधिमा स्थानीय नेपाली मिडियाकर्मीसंगको भेटघाट , फिल्म र पर्यटन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमहरु पनि हुने सुर्य कर्पोरेसनले जनाएको छ ।
गत वर्ष भएको अवार्डको दोस्रो संस्करण जापानको टोकियो स्थित नाकानो जिरो हलमा सम्पन्न भएको थियो । जहाँ नेपाली कलागजतलाई प्रतिनिधित्व गर्ने नामहरु नीर शाह , मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , भुवन केसी देखि पछिल्लो पुस्ताका कलाकारहरु अनमोल केसी , साम्राज्ञी राज्यलक्ष्मी शाहसम्मको उपस्थिति रहेको थियो । अवार्ड समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाइ लाइफटाइम एचिभमेन्ट अवार्ड , एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान र एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिने गरिएको छ ।












