‘बुलाकी’ लाई दर्शकले दिए सकरात्मक प्रतिक्रिया

फिल्म। नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शन थालनी गरेको फिल्म ‘बुलाकी’लाई मल्टीप्लेक्सहरुले शोज बाँडफाँडमा ठूलो अन्याय गरेका छन् । शुक्रबारबाटै प्रदर्शनमा आएका अन्य दुई फिल्मलाई पर्याप्त शोज प्रदान गरिँदा ‘बुलाकी’लाई झारो टार्नका लागि मात्र शोज दिइएको देखिन्छ । यद्यपि, कम शोजका बावजूद पनि प्रदर्शनको पहिलो दिन फिल्म व्यापारमा कमजोर देखिएन । देशभरका मल्टीप्लेक्सहरुले प्रदान गरेका शोज र प्राप्त सिंगल थिएटरमा शुक्रबार दिउँसोदेखि साँझसम्म फिल्म हेर्ने दर्शकको चाप सुखद देखिएको थियो । बिहानी शोज भने अपेक्षाकृत हुन सकेन । ‘माउथ पब्लिसिटी’ले दर्शकलाई हलसम्म तानेको निर्माता तथा कलाकार विराज विष्ट बताउँछन् ।

‘वर्ड अफ माउथ’ बलियो भएकाले शनिबार दर्शकको साथ अझ राम्रो मिल्नेमा निर्माण टिम विश्वस्त छन् । निर्देशक लक्ष्मण सुनार पहिलो दिनको व्यापार र प्रतिक्रियाले उत्साहित बनाएको बताउँछन् । कर्णाली क्षेत्रमा प्रचलनमा रहेको जारी प्रथाको विषयलाई सशक्त रुपमा उठान गरिएको यो फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइ, प्रकाश कँडेल, सरस्वती खत्रीलगायतको अभिनय छ । फिल्मको निर्माता टोपेन्द्र विष्ट हुन् ।

कमेन्ट गर्नुहोस्