कस्तो छ ‘आ बाट आमा’को टिजर ?

फिल्म । आर्या इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’ को टिजर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक टिजरमा परदेशिन लागेका छोराप्रति बुबाआमाको माया कति गहिरो हुन्छ भन्ने यथार्थ कथालाई प्रस्तुत गरिएको छ । टिजरमा अभिनेता पल शाह सिरानीमाथि पासपोर्ट राखेर बसेको देखिन्छ भने उनका बुबा प्रदीप रावत र आमा विपना थापा रातभर छोराको बिदाइको पीडामा रोइरहेका छन् । छोराको यात्राभन्दा अघिल्लो रात बुबाआमाले निदाउन नसक्ने अवस्थालाई टिजरले निकै प्रभावकारी रूपमा देखाएको छ ।

टिजरमा देखिएको भावनात्मक अभिनय, विशेषगरी विपना थापा र प्रदीप रावतको प्रस्तुतिले दर्शकलाई सुरुदेखि नै छुने संकेत गर्छ । निर्देशक चन्द्र पन्तले परदेशिन बाध्य भएका नेपाली युवाका कथालाई पर्दामा प्रभावकारी ढंगले उतारेको देखिन्छ । आगामी माघ १६ गते रिलिज हुने फिल्ममा प्रदीप रावत, विपना थापा र पल शाहसँगै सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली लगायतको अभिनय रहेको छ । बाल कलाकारमा समाइरा थापा र शान अधिकारी देखिन्छन् ।

निर्देशक पन्तकै कथा र पटकथामा बनेको फिल्मका संवाद अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले संयुक्त रूपमा लेखेका छन् । फिल्ममा लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको रहेको छ ।

फिल्मका कार्यकारी निर्माता करण सिंह रसाइली हुन् । छायांकन नवराज उप्रेती, कोरियोग्राफी गम्भीर बिष्ट र दिलिप ओखडाले गरेका छन् । गीतमा कोशिश क्षेत्री, थानेश्वर गौतम, बाबुल गिरी र अभि सुनारको संगीत समावेश छ । सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन् । फिल्मलाई आर आर फिल्म्सका लागि रोहित कट्टेल र रतन श्रेष्ठले वितरण गर्नेछन् ।

कमेन्ट गर्नुहोस्