दर्शकको रोजाईमा ‘लज्जावती’ ट्रेलर

फिल्म । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘लज्जावती’ को ट्रेलर सार्वजनिक भएसँगै दर्शकले मन पराएका छन् । साउन १५ (खिर खाने दिन)को अवसर पारेर निर्माण टिमले काठमाडौंमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको ट्रेलरलाई इन्टरनेटमा रुचाइएको छ । प्रेम, विश्वास, धोका, विछोड र त्यसपछिको संघर्षलाई केन्द्रमा राखिएको उक्त ट्रेलरमा दुई प्रेमिल जोडीको कथामार्फत जीवनका उतारचढाव र सामाजिक यथार्थ प्रस्तुत गरिएको छ ।

फिल्ममा मुकुन भुसाल र जानुका विश्वकर्मा एक जोडीका रूपमा देखिएका छन् भने श्रीकृष्ण निरौला र मेनुका माझी अर्को प्रेमिल जोडीको भूमिकामा छन्। ट्रेलरले सुरुवातमा आत्मीय देखिने पारिवारिक सम्बन्ध र मित्रता समयसँगै अभाव, सामाजिक दबाब र विभिन्न परिस्थितिका कारण जटिल बन्दै गएको चित्रण गरेको छ।

निर्देशक राजबहादुर सानेका अनुसार फिल्मले प्रेम सम्बन्धमा आउने चुनौती, संघर्ष र जीवनका यथार्थ पक्षलाई समेटेको छ। फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलको अभिनय रहेको छ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन्।

फिल्मको छायांकन दिव्यराज सुवेदीले गरेका छन् भने सम्पादन तारा थापा ‘किम्भे’ र द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ। कुबेर सिने डिस्ट्रिब्युसनले फिल्मको वितरण गर्नेछ।

कमेन्ट गर्नुहोस्