‘पार्वती’को टिजरपछि अभिनय र निर्देशन दुवैमा नीताको प्रशंसा

फिल्म । अभिनेत्री नीता ढुङ्गानाको आगामी फिल्म ‘पार्वती’ को टिजर सार्वजनिक भएसँगै उनको अभिनयको व्यापक चर्चा हुन थालेको छ। अटिजम भएकी युवतीको भूमिकामा देखिएकी नीताले पात्रलाई जीवन्त रूपमा प्रस्तुत गरेको भन्दै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

टिजरमा नीताले अटिजम भएकी युवतीको भावभंगी, हाउभाउ र भाइप्रतिको निश्छल मायालाई स्वाभाविक ढंगले प्रस्तुत गरेकी छन्। संवेदनशील र चुनौतीपूर्ण पात्रलाई सहज रूपमा निर्वाह गरेको भन्दै धेरैले उनको अभिनयको प्रशंसा गरेका छन्।

विभिन्न प्रकारका पात्रमार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गर्दै आएकी नीता ‘किसान’, ‘मसान’, ‘नोटबुक’ र ‘छ एकान छ’ जस्ता फिल्ममा देखिइसकेकी छन्। सात वर्षअघि प्रदर्शन भएको ‘पञ्चायत’ मा उनले वि.सं. २०३३ सालको एक अबोध किशोरीको भूमिका निर्वाह गरेर समीक्षक र दर्शक दुवैबाट प्रशंसा बटुलेकी थिइन्। संयोगवश ‘पञ्चायत’ र ‘पार्वती’ दुवै फिल्मका लेखक शिवम् अधिकारी हुन्।

नीताका अनुसार ‘पार्वती’ समाजका यथार्थ पात्रहरूको कथा हो। “आफ्नै समाजको कथा, धेरै पार्वतीहरूको व्यथा र मौन पीडामा बाँचिरहेका अनगिन्ती पार्वतीहरूको आवाज बनेर ‘पार्वती’ आउँदैछ,” उनले बताएकी छन्।

‘ह्रस्वदीर्घ’मार्फत सफल निर्माताका रूपमा परिचित बनेकी नीता ‘पार्वती’ बाट पहिलोपटक निर्देशकका रूपमा पनि दर्शकमाझ आउँदैछिन्। निर्माण, निर्देशन र मुख्य भूमिकाको जिम्मेवारी एकसाथ सम्हालेकी उनको यो फिल्म आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउनेछ।

कमेन्ट गर्नुहोस्