देश । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एसिड आक्रमण गर्नेलाई कानून बनाएर कडा भन्दा कडा कारवाही गर्नुपर्नेमा आफू स्पष्ट रहेको बताए ।एसिड आक्रमण घटनाका पीडितको कथावस्तुमा निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’ निर्माण घोषणा कार्यक्रममा अध्यक्ष ओलीले चलचित्रमार्फत यस्ता कथालाई दर्शकसम्म पुर्याउनु प्रभावकारी अभियान रहेको बताए ।
‘यो सामाजिक अभियानसँग जोडिएको चलचित्र निर्माण हुँदैछ भन्दा निकै खुसी लागेको छ । एसिड आक्रमण गर्नेलाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ । जसले गर्दा आगामी दिनमा यस्ता क्रियाकलाप गर्ने तर्फ सोच नजाओस्’,अध्यक्ष ओलीले भने,‘यस्ता जघन्य अपराधमा सामेललाई आम माफी दिनु हुदैन । यहाँ राजनीतिज्ञ सङ्ग्लाग्नाताको आधारमा माफी दिने गरिन्छ, जुन गलत छ ।’
उहाँले एसिड सर्वसुलभ रुपमा उपलब्ध नहुन हुने विचार राख्दै कडाइका साथ बिक्रि गर्नुपर्ने, कसले किनेको, कति खपत गर् यो ? भन्ने विवरण राख्नु पर्नेमा जोड दिनुभयो ।
अभिनेता रमित ढुङ्गानाको निर्देशनमा तयार हुने चलचित्रमा अध्यक्ष ओली प्रधानमन्त्रीकै रुपमा चलचित्रमा देखिने जानकारी गराइयो । ‘म सँगै केही अन्य कलाकारको पनि अतिथि भूमिका रहने छ । अध्यक्ष ओलीज्यूसँग जोडिएको दृश्य भएकाले हामीले गरेको अनुरोधमा सकारात्मक हुनुभएको छ । यसले समाजमा एसिड आक्रमणले निम्त्याएको समस्या र आक्रमणमा परेकी पिडितको बाँकी जीवनलाई देखाउने छ’, निर्देशक ढुङ्गानाले भने ।
चलचित्रको पटकथा लेखक शिवम अधिकारीले तयार गरेका हुन् । माघ २५ देखि चलचित्रको छायांकन पोखरा, वीरगञ्ज, रौतहटको चन्द्रपुर, भक्तपुर, बनेपा, नवलपुर र पनौतीमा हुने निर्माण पक्षले जानकारी दिएको छ ।










