देश । निर्वाचन आयोग ले समानुपातिकतर्फको सिट संख्या निर्धारण गर्दै थ्रेसहोल्ड कटाएका दलहरूलाई तीन दिनभित्र उम्मेदवारको नाम पठाउन निर्देशन दिएको छ । समानुपातिक प्रणालीअन्तर्गत थ्रेसहोल्ड कटाएका ६ दलले पाउने सिट संख्या निर्धारण गरेर आयोगले सबै दललाई पत्राचार गरेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फको मतगणना सकिएपछि सिट संख्या निर्धारण गरिएको हो ।
निर्वाचन कानुनअनुसार समानुपातिकतर्फ कुल मतको कम्तीमा ३ प्रतिशत प्राप्त गर्ने दललाई मात्रै सिट बाँडफाँट गरिन्छ । यही व्यवस्था अनुसार ६ दलले थ्रेसहोल्ड पार गर्दै प्रतिनिधिसभामा समानुपातिक सिट पाएका हुन् ।
आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २० सिट, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १६ सिट, नेपाल कम्युनिस्ट पार्टीले ९ सिट, श्रम संस्कृति पार्टीले ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट पाएका छन् ।
आयोगका अनुसार समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो । तीमध्ये एक करोड ८ लाख ३५ हजार २५ अर्थात् ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ ।
त्यसैगरी प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो, जसमध्ये ९४.५५ प्रतिशत अर्थात् एक करोड ५ लाख ५९ हजार १७ मत सदर भएको आयोगले जानकारी दिएको छ । यस प्रतिनिधिसभा निर्वाचनका लागि कुल एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए ।











