फिल्म । चलचित्र पत्रकार संघ नेपालले शुक्रबार भर्चुअल माध्यमबाट ‘२२ औं बार्षिक उत्सव तथा १९औँ चलचित्र पत्रकारिता दिवस’ मनाएको छ । संघले आफ्ना सम्पुर्ण सदस्य तथा फिल्म क्षेत्रसँग सम्बधित संघसंस्थाका पदाधिकारीको भर्चुअल उपस्थीतिमा बार्षिक उत्सव मनाएको हो । संघका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल रहनु भएको थियो । यस्तै विशेष अतिथिहरुमा संस्थापक अध्यक्ष भरत शाक्य, पूर्व अध्यक्ष बिदुर गिरि, शान्तिप्रिय, निवर्तमान अध्यक्ष सन्दिप सापकोटा , एसोसियट प्रदेश अध्यक्ष बैकुण्ठराज पराजुली सहित संघका सिनियर पत्रकारहरु विजय रत्न तुलाधर , अन्नत वाग्ले , डब्बु क्षेत्री , सुव्रत आचार्य , राज श्रेष्ठ , दयाराम पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
‘हाम्रो गौरवशाली छन् हो यो , तर यस किसिमले मनाउनु पर्ने बाध्यता र हामी कोहि खुसि छैनौ’ अध्यक्ष सिटौलाले भने ,’ पहिलो प्राथमिकता स्वास्थ्य हो र सबै सदस्यहरुलाई सुरक्षित रहन आग्रह गर्दछु ।’समयक्रमसँगै सूचनाप्रविधि र इन्टरनेटको बढ्दो विस्तारले संचारकर्मलाई धेरै भन्दा धेरै पहुँचमा पुर्याएसँगै जिम्मेदारी र जवादेहिता पहिले भन्दा अझ बढेको उनले बताए । ‘पहिलो लकडाउनमा हामीले गर्दै आएका नियमित कामहरूलाई के गर्ने र कसरी गर्ने भन्ने बारेमा एउटा अन्योलमा थियौं । यसपटक साथीहरूले अन्यौलतालाई चिर्दै आफ्नो कामहरू गरिरहनुभएको छ । मलाई लाग्छ समस्यामा अल्झिने भन्दा पनि सोसँगै जुध्ने हाम्रो हिम्मतले हामीलाई अझ अगाडि बढाउने छ’ अध्यक्ष सिटौलाले भने ।
वि.सं. २०५६ साल जेष्ठ ७ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकै आधारमा यस दिनलाई स्थापना दिवसको रुपमा मनाउदै आइएको छ । विक्रम संवत २०५९ सालबाट आफ्ना सदस्यहरुलाई प्रोत्साहित गर्ने उदेश्यले संघले सम्मान तथा पुरस्कार पनि सुरु गरेको थियो । संस्थापक अध्यक्षले यो परम्परा सुरुवात गर्ने सबैलाई धन्यवाद दिए । ‘तत्कालिन समयमा सहजता थिएन यद्दपी अठोट थियो , जसलाई पुरा गर्ने सम्पूर्ण कर्यसमितीलाई धन्यवाद ।’ हाल अमेरिकामा रहेका शाक्यले यो समयमा अवस्था सामान्य भएपछी पत्रकारितामा थप्न सकिने आयामको विषयमा तयारी गर्न सुझाए ।
यस्तै , संघका पूर्व अध्यक्ष विदुर गिरीले जेष्ठ ७ गते चलचित्र पत्रकारका लागि दशैं र तिहार जस्तै ठुलो पर्व रहेको भन्दै हालको पदाधिकारीले चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मानलाई छिटै वितरण गर्न सुझाव दिए । पुर्व अध्यक्ष शान्तिप्रिय , निवर्तमान अध्यक्ष सन्दीप सापकोटाले पनि अवस्था सामान्य भएपछी संघको गतिविधि बढाउन सुझाए ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले आफु चलचित्र पत्रकारसंगै रहेको बताए । ‘हाम्रो अवस्था कठिन यद्दपी रचनात्मक कार्यमा म सदैव पत्रकारहरुसंग छु , रहनेछु’ उनले भने । यस्तै कार्यक्रममा निर्माता संघका अध्यक्ष आकाश अधिकारी , निर्देशक समाजका महासचिव जनकदीप पाराजुली , चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदीपकुमार उदय , समिक्षक समाजका अध्यक्ष दीपेन्द्र लामा, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा , नृत्यकार संघका कार्यवाहक अध्यक्ष जनक कार्की लगायत भर्चुअल माध्यमबाट उपस्थित थिए । संघका महासचिब समिर बलामीले सञ्चालन गरेका कार्यक्रममा बोल्ने अधिकांश वक्ताले आगामी दिनमा फिल्मी क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा चलचित्र पत्रकारले जोड दिनु पर्ने बताएका थिए ।










