यौनिक तथा लैङ्गिक अल्पसंख्यकले गरे ‘गौरव यात्रा’

देश । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक(एलजीवीटीआइ) समुदायले विभेदरहित र लाल्छनामुक्त समाज निर्माण र समान अधिकार प्राप्तीको माग राख्दै विहिबार काठमाडौंमा २०औं ‘नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव’ मनाएका छन् । यौनिक लैङ्गिक अल्पसंख्यक समुदायले अधिकारको माग गर्दै राष्ट्रिय गाईजात्रालाई अन्तर्राष्ट्रिय रुपमा सन् २००१ देखि मनाउँदै आएका छन् ।

सांस्कृतिक पर्व रुपमा रहेको ‘गाईजात्रा’ पर्वको अवसरमा नेपाल स्थित अमेरिकी दुताबास र राइट टु राइट हेयर नामक संस्थाको सहयोगमा नीलहिरा समाजले गाईजात्रा उत्सवको आयोजना गरेको हो । एक वर्षभित्र दिवंगत भएका आफ्ना समुदायका व्यक्तिहरुको सम्झनामा समाजले सप्तरङ्गी दीप प्रज्वलनको समेत आयोजना गरेको थियो ।

कार्यक्रममा सहभागी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री सुरेन्द्र राज आचार्य, नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन, डेनिस राजदूताबासका प्रतिनिधिलगायतले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई सम्मान, माया र सदभाव व्यक्त गर्न सचेतना जगाउने उदेश्यले कार्यक्रम आयोजना गरिएकोप्रति खुशी व्यक्त गर्नुभयो ।

नीलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले समुदायका व्यक्तिहरुमाथि विभेद र अपमानपूर्ण व्यवहारका कारण आत्महत्या र मानासिक समस्या बढ्दै गएकोप्रति दुःख व्यक्त गरिन । उनले भनिन,‘दुई दशक लडेर हामीले धेरै अधिकार प्राप्त त गरिसकेका छौं तर अझैपनि समाजको दृष्टिकोण फेरिएको छैन । अपमान र लाल्छना कायम रहेकाले सम्मानजनक पूर्वक बाँच्ने वातावरण सबै नागरिकहरुले बनाइदिनुहुन्छ भन्ने अपेक्षा गरेका छौं ।’

ठमेलबाट शुरु भएको उत्सव बसन्तपुर, न्यूरोड हुँदै टुँडिखेलमा पुगेर समापन भएको थियो । सोही अवसरमा समाजले टुँडिखेलमा ‘गाईजात्रा प्राइड परेड कन्सर्सट’ आयोजना गरेको छ । कन्सर्टमा समूदायका कलाकार साथै गायक प्रकाश सपुत, कुटुम्ब व्याण्ड, गायिका सुवानी मोक्तान, एलिना चौहानलगायतले प्रस्तुती दिनुभयो । उत्सवमा देशभरका यौनिक तथा लैङ्गिक अल्पसंख्य समुदायको उपस्थिति थियो । ‘गौरव यात्रा’ लाई सहयोग गर्न पाउँदा काठमाडौँस्थित अमेरिकी दूतावासलाई गर्व महसुश भएको राजदूत थम्पसनले बताउनुभयो । उनले भने,’यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका जीवनको सम्मान गर्दै गर्दा आज हामी गर्वका साथ हिँडेका छौँ । समाजमा उनीहरूका योगदान, उनीहरूका सङ्घर्ष र उनीहरूका सफलताबारे चिन्तन गर्न यो एउटा महत्त्वपूर्ण अवसर हो ।’

प्राइड परेड तथा कन्सर्ट कार्यक्रमको आयोजना मानव अधिकारको सम्मानका निम्ति गरिएको वर्षौँको सङ्घर्ष र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूको कानुनी समानताका लागि जारी प्रयासका साथसाथै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूका उमङ्ग र उपलब्धिहरूको स्मरणमा हुने गर्दछ । कन्सर्टमा बोल्दै काठमाडौँस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख ग्यारेट विल्करसनले भने, ‘नेपालका प्रत्येक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिको गरिमाको समर्थन गर्नका निम्ति नागरिक समाजका सङ्गठन, मानवअधिकारकर्मी र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई सहयोग गर्न र उनीहरूसँग सहकार्य गर्न हामी गर्व गर्छौँ । नेपालको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई सहयोग गर्नेप्रति अमेरिकालाई गर्व छ ।’

कमेन्ट गर्नुहोस्