फिल्म । ज्ञानेन्द्र देउजा पुराना निर्देशक हुन् । प्राय स्टारहरुसँग स्टाइलिस फिल्म बनाएका देउजा पछिल्लो समय स्वर्गीय भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ मा आधारित सोही नामको फिल्म लिएर दर्शक माँझ आउँदैछन् । त्यसो उनले करियरको सुरुवाती समयमा नै लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुना मदन’ मा फिल्म बनाइसकेका थिए । सो समयमा उनले फिल्म बनाउछन् भन्ने कमैलाई लाग्याथ्यो । तर , फिल्म बनाएर तात्कालिन समयमा विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा फिल्म देखाएपछि पाएको प्रतिक्रियाले उनलाई स्थापित नै गरायो ।
मसालेदार फिल्म निर्देशन गरिरहेका निर्देशक ज्ञानेन्द्रलाई स्वर्गीय देवकोटाको छोरा पदम देवकोटाले दिएको प्रतिक्रियाले उत्साहित बनायो । ‘मलाई धेरैले त्यो केटालाई फिल्म नदेउ बिगार्न सक्छ , वा बिगार्यो होला भनेका थिए । तर , तिमीले कृतिलाई न्याय गर्यौँ । धन्यवाद ।’ पदम देवकोटासँग भएको कुराकानी निर्देशक देउजाले सम्झिए । त्यसपछि लगातार व्यसायिक सफल फिल्म निर्देशन गरेका देउजाको सम्झिने फिल्मको अग्रपंक्तिमामा भने ‘मुना मदन’ नै आउँछ ।
उनले झन्डै दुई दशक अगाडी फिल्म निर्देशन गरेको भएता पनि अहिले पनि सोही फिल्मकै चर्चा हुन्छ । किनकी फिल्म नेपाललाई प्रतिनिधित्व गर्दै ओस्कारसम्म पुगेको थियो । त्यति मात्र नभई हलिउडमा एक फेस्टिभलमा स्क्रिनीङ समेत भएको थियो । ‘मुना मदन म रहे पनि न रहे पनि रहिरहने फिल्म हो । त्यस्तै मैले झिँगेदाउ पनि बनाउने प्रयाश गरेको छु’ ज्ञानेन्द्रले भने । उनले यो कथा रुचाएको धेरै भइसकेको छ । उनलाई मुख्य सहायक निर्देशक भएर काम गर्दा नै यो कथालाई पर्दामा ल्याउने चाहना थियो । यद्दपि उनले यसलाई बल्ल ल्याउदै छन् ।
‘यो कथा फिल्मकै लागि लेखिएको जस्तो छ । किनकी यसमा ड्रामा छ । यो पढ्दा नै कतै रमाइलो लाग्छ , कतै दुख लाग्छ अनि कतै कौतुहलता । यिनै कारणले मैले यसलाई फिल्ममा ल्याउने इच्छा राखेको थिए’ उनले भने । उनले झिँगेदाउ पढ्दानै त्यसले फिल्मी स्वाद दिएको बताए । उनले तात्कालिन समयमा जागिरे जीवनले गर्दा यसलाई बनाउने समय पाएनन् । आफ्नो रिटायर्ड लाइफमा रहेका निर्देशक देउजाले फिल्म बनाउने निधो गरेपछि उनले साची राखेको ‘झिँगेदाउ’ नै रोजे ।
यसपटक फिल्म बनाउन उनी अपडेट पनि भए । किनकी दर्शकको स्वाद फेरिएको छ । उनले डिजिटलमा काम गर्नु पर्ने थियो । पुरानो कथामा नयाँ मेकिङ उनलाई चुनौती थियो । त्यसो त उनलाई टाइटल नै बुझाउनु पर्ने छ । झिँगेदाउ एक किसिमको खेल हो । जुन अहिले खेलिदैन । ‘झिँगेदाउ पहिला खेलिने एक किसिमको खेल हो । यहाँ आफ्नो आफ्नो पैसा लिएर खेलाडी बस्छन । झिँगा जसको पैसामा बस्छ उसकै जीत हुन्छ’ निर्देशक देउजाले भने ।
उनले फिल्ममा खेल पश्चात एउटा परिवारमा आउने परिवर्तन वा आपसी समस्यालाई चित्रण गरिएको बताए । ‘खेलले दुई सदस्य र परिवारमा पार्ने प्रभावलाई फिल्ममा देखाउने प्रयाश गरेको छु । यो फिल्मले एकै परिवारमा भएका सदस्यहरुलाई समेत आपसी सद्भाव बढाउन प्रेरित गर्छ’ उनले भने । त्यसो त उनलाई छायांकनमा सजिलो थिएन । किनकी उनले पुरानो समय देखाउनु थियो । यसको लागि उनले नेपालको विभिन्न भूभागको अवलोकन समेत गरे ।
अन्ततः भकुन्डेवेसीमा सेट बनाएर फिल्मको छायांकन गरेका हुन् । ‘मैले छायांकनकै लागि घर बनाए , गाउँ झैँ तयार गरे । किनकी मा दर्शकले हेर्दा आँखालाई नबिझाओस भन्ने चाहन्थे’ उनले भने । फिल्मको मुनाफा र जोखिमलाई नजिकबाट बुझेका निर्देशक देउजाले कर्मबाट टाढिन नसकिने बताए । ‘मैले यहाँ जोखिम र मुनाफा दुवै देखेको छु । कमाउदा र घाटा लाग्दा पर्ने प्रभाव थाहा छ । यद्दपि यहिँ काममा समर्पित भएकाले फिल्म नबनाइ कहाँ रहन सकिन्छ र’ उनले भने ।
फिल्मको कथा अहिलेको समय सापेक्ष रहेको उनको भनाइ छ । परिवार र त्यसमा आउने समस्यालाई फिल्मी शैलीमा उनले ‘झिँगेदाउ’ मा प्रस्तुत गरेका छन् । उनी यस कथालाई एभरग्रीन भन्छन् । किनकी उनले तीन दशक अगाडी सोचेको कथालाई अहिले पर्दामा ल्याउदै छन् । ‘यसको कथा रोचक छ नै । साथै फिल्म भनेको दृश्य भाषा हो । त्यसमा मेहनत गरिएको छ’ उनले भने ।
उनले भिएफएक्स , डिजिटल प्रविधिसँग नजिकबाट साक्षात्कार भएको बताए । आफूलाई अपग्रेड गर्दै फिल्म तयार पारे । यद्दपि साहित्यलाई पर्दामा फिल्म बनाउन सहज भने छैन । तर , उनी यसपटक पनि कृतिमै आधारित फिल्म मार्फत कमब्याक गर्दैछन् । ‘कृतिलाई पर्दामा ल्याउदा निश्चित परिधि हुन्छ नै । किनकी कृतिको भाव नमर्ने गरी फिल्मी शैलीमा ढाल्नु पर्छ । यो कृति आफैँमा फिल्मी छ । साथै , मलाइ पटकथामा ल्याउन लेखक प्रदीप भारद्वाजले मदत गरे’ निर्देशक देउजाले भने ।
उनी कृतिलाई पर्दामा उतार्न ‘मुना मदन’ फिल्म मार्फत स्थापित गरेको पहिचानले यसले झनै बढाउनेमा विश्वस्त छन् । आफ्नो कमब्याक नै कृतिमा आधारित फिल्म मार्फत गर्नु बलियो कथा र पटकथा कारक रहेको उनले बताए । केहि वर्षको अन्तरालमा फिल्म निर्माण तथा निर्देशनमा आएका उनले प्रविधिले गर्दा पछिल्लो समय स्तरीयता झनै घटेको बुझे । ‘पहिला हामीसँग सिमित मात्रामा क्यान हुन्थ्यो । हामीले रिहल्सल गरेर मात्र छायांकन गर्थ्यौं । के खिचियो भन्ने छायाँकारलाई मात्र थाहा हुन्थ्यो । हामीले फिल्म त ल्याबमा मात्र हेर्न पाउथ्यौं’ उनले भने ।
पछिल्लो समय भित्रिएको प्रविधिले फिल्म मेकिङलाई सहज बनाएकै कारण कमसल फिल्म बनिरहेको पनि उनको बुझाइ छ । ‘जसले पनि फिल्म बनाउन पाउने भए । प्रविधिले दिएको सहजतालाई सरलता स्वरूप लिदा नेपाली फिल्म दर्शकको अपेक्षा अनुसार बन्न सकिरहेका छैनन्’ निर्देशक देउजाले भने । केकी अधिकारी, आँचल शर्मा , मुकुन भुषाल , कुशल विष्ट , हिउँवाला गौतमको मुख्य अभिनय रहेको फिल्म भिमनिधी तिवारीको यही नामको कथामा आधारित रही निर्माण गरिएको हो । कथालाई पटकथामा रुपान्तरण गर्ने काम प्रदीप भारद्धाजले गरेका हुन् । फिल्ममा केकी अधिकारीले जेठानी र आँचलले देउरानीको भूमिका निर्वाह गरेका छन् । मुकुस भुसाल र कुशल बिष्टले दुवैको श्रीमान्को भूमिका निर्वाह गरेका छन् ।
भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित फिल्मले दुई दाजुभाई र देउरानी-जेठानीको पारिवारिक झमेलाको कथा भन्छ । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ ।सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको फिल्ममा सुशील दाहाल र इश्वर घिमिरेको सह – निर्माण छ ।










