फिल्म । वर्ष २०७६ नेपाली फिल्मका लागि त्यति सुखद हुन् सकेन , किनकी सिजनमा कोरोना भाइरस (कोभिड १९) ले असर गर्यो । गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा पहिलो पटक देखिएको यो भाइरसले विश्वनै आक्रान्त भइरहदा नेपाल अछुतो रहन सकेन । फलत विस्तारै विस्तारै नेपाल पनि ‘लकडाउन’ भयो । नेपाली आश गरिएका फिल्म फागुन देखि चैत्रसम्म थिए । जसले हलसम्म आउने अवसर पाएनन् ।
तर , हामी कुरा गर्दैछौ केहि यस्ता फिल्मको , जसले चर्चा त पाए तर सफल हुन् सकेनन् । स्टारकास्ट वा व्यानरले गर्दा केहि फिल्मले राम्रो चर्चा पाए तर त्यसको प्रचारप्रसार सामाग्रीले दर्शकलाई तान्न नसक्दा बक्स अफिस उत्साहपूर्ण देखिएन । फलत ति फिल्मले न दर्शकको साथ् पाए न समीक्षकको राम्रो प्रतिक्रिया नै । केहि फिल्मले दर्शकको विश्वास गुमाउदै व्राण्डको शाख जोगाउन सकेनन् भने केहि फिल्मले व्यसायिक रुपमा समेत लगानी उठाउन सकेनन् ।
घामड शेरे
गीतसंगीत र स्टारकास्टको कारण चर्चामा रहेको फिल्मको सुचीमा थियो , घामड शेरे । फिल्म घोषणा देखि नै निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीको कारण चर्चामा आएको फिल्मको सार्वजनिक पहिलो गीत ‘साली मन पर्यो’ ले पनि राम्रो हाइप बटुलेको थियो । यद्दपी त्यसपछि आएका फिल्मको प्रचारप्रसार सामग्रीले दर्शकलाई आकर्षण गर्न सकेन । फलत फिल्म प्रदर्शनमा आयो , तर व्यापार गर्न सकेन । फिल्मको कथा विदेश रिर्टन्स ‘शेरे’ पात्र (निश्चल बस्नेत) को वरिपरि घुमेको छ, जो गाउँमा तरकारी खेत गर्ने सपना पालेर स्वदेश फर्किन्छ । तर, विदेशमा दुःख गरेर कमाएको पैसाले किनेको खेत खोलाले बगाएपछि उसले खोलालाई नै मुद्धा हाल्छ । फिल्म यस्तै विषयवस्तुमा केन्द्रीत थियो । निर्देशक हेमराज विसी निर्देशित फिल्ममा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । फिल्मलाई लिएर रिलिज अगाडी निकै आश गरिएको थियो ।
सेल्फी किङ्ग
वर्षको सुरुवातमा नै ‘जात्रै जात्रा’ मार्फत दर्शकको मन जितेका विपिन कार्की शिर्ष भूमिकामा रहेकाले ‘सेल्फी किङ्ग’ चर्चामा थियो । राष्ट्रिय अवार्ड विजेताको ट्यागसँगै एउटा राम्रो कथावस्तुमा पाएको भूमिकालाई जीवन्त निर्वाह गर्ने विपिनकै कारण प्रतिक्षित थियो । उनले यसमा एक हाँस्यकलाकारको भूमिका निर्वाह गरेका थिए । एउटा कार्यक्रममा पुगेर फर्किने कथावस्तु रहेको फिल्मको चर्चा जति थियो , त्यसलाई प्रचारप्रसारमा आएको सामग्रीले बढाउँन सकेन । फलत दर्शकको उपस्थिति हलमा न्यून देखियो ।
भर्सटायल अभिनेताको रुपमा परिचित विपिनको अभिनयको चर्चा त भयो तर फिल्मले सफलता पाउँन सकेन । कमेडियनको भित्री पिडा र बाहिरी कर्तव्यलाई समेटिएको फिल्मले समीक्षकको राम्रो प्रतिक्रिया पाएनन् । विपिनका केहि दर्शकले फिल्मलाई राम्रो भन्न सकेनन् । फिल्मलाई प्रिमियरमा हेरेका कलाकारले भने रिलेट गरेका थिए । यद्दपी दर्शकले बलियो ‘वर्ड अफ माउथ’ दिएनन् । डेब्यु निर्देशक विशाल सापकोटाकै लेखन र निर्देशन रहेको फिल्ममा दिनेश राउत र शुभाष थापाको निर्माण रहेको थियो ।
सेन्टी भाइरस
हाँस्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण र अभिनय रहेकै कारण फिल्म ‘सेन्टी भाइरस’ चर्चामा थियो । निर्माणको समय देखि नै धुर्मुस र सुन्तली जोडीको अभिनय र निर्माण रहने भएकाले फिल्म हाइपमा थियो । पछिल्लो समय हाँस्य फिल्मकै बजार रहेका बेला धुर्मुस र सुन्तलीको जोडी व्यसायिक रुपमा सफल हुने र फिल्मलाई दर्शकले रुचाउने भएकाले निकै आश गरिएको थियो । यद्दपी फिल्मले इन्सियल व्यापार बाहेक दर्शकलाई हलसम्म तान्न सकेन ।
महाशिवरात्रीलाई लक्षित गर्दै प्रदर्शनमा आएको फिल्मले सोच अनुसारको व्यापार त गरेनन् नै समीक्षकको प्रतिक्रिया पनि पाएन । इनिसियल विजनेस र बुकिंग गरिएका केहि शो बाहेक अन्यमा दर्शकको उल्लेख्य उपस्थिति रहेन । निर्माण पक्षले यसको ग्रस कलेक्सन चार करोड भन्दा माथि भने पनि हाँस्यकलाकारको अन्य समुहले निर्माण गरेको फिल्मको तुलनामा निकै कम हो । रामबाबु गुरुङले फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा सिताराम र कुञ्जनासँगै दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय छ ।
दाल भात तरकारी
वर्ष २०७६ को सुरुवातमै प्रदर्शनमा आएको फिल्म हो ‘दाल भात तरकारी’ । शत्रु गतेको सफलतापछी मह सञ्चार र किरण केसीको निर्माण रहेको फिल्म गीतसंगीत र स्टारकास्टका कारण चर्चामा थियो । फिल्मको हाइप बढेकै कारण फिल्मनगरीले नै आश गरेको थियो । तर , फिल्मले इन्सियल व्यापार गरेपनि दर्शक मार्फत बलियो ‘वर्ड अफ माउथ’ बटुल्न सकेन । फलत : फिल्मले इनिसियल रुपमा व्यापार गरेपनि त्यो दीर्घकालिन भएन ।
मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , किरण केसी , नीरुता सिंह, वर्षा राउत, आँचल शर्मा , पुष्प खड्का लगायतका कलाकारहरुको अभिनय रहेको फिल्मलाई सुदन केसीले निर्देशन गरेका थिए । हरिवंश आचार्यको लेखन रहेको फिल्मले समीक्षक मार्फत राम्रो समीक्षा पनि बटुल्न सकेन ।









