सगरमाथालाई नजिकबाट चिन्ने मौका पाएँ : आँचल शर्मा

फिल्म । नेपाली फिल्म उद्योगकी पछिल्लो समयकी सर्वाधिक व्यस्त नायिका आँचल शर्मा एकपछि अर्को फिल्ममा सक्रिय छन् । उनको अभिनयसँगै पहिरनले पनि सधैं मिडियामा चर्चा पाउने गरेको छ । यिनै आँचल अभिनित नयाँ फिल्म ‘जेरीः अन टप’ असोज ३१ गतेबाट प्रदर्शनमा आउँदै छ । टिजर, गीत र ट्रेलर सार्वजनिक भएसँगै फिल्मको चर्चा चुलिएको छ, र दर्शकहरूमा उच्च अपेक्षा देखिएको छ ।

उनले फिल्ममा श्रेया नामक पात्रको भूमिका निर्वाह गरेकी छिन् । सार्वजनिक ट्रेलरमा आँचलले अनमोलको मंगेतर रहने सङ्केत गरेकी छिन् । आफ्नै बुवालाई हराउन सगरमाथा चढ्ने प्रण लिएका जेरी (अनमोल केसी) को जसिता गुरुङसँग भेट हुन्छ । त्यसपछि फिल्मले त्रिकोणात्मक प्रेम कथालाई अगाडि बढाउने टिजरले देखाएको छ ।

यो फिल्मका लागि आँचलले झन्डै १८ महिनाको समय दिएकी छिन् । एउटा फिल्मको लागि सो समय दिनु कलाकारको आफैँमा एउटा चुनौती हुन्छ । आँचल सम्पूर्ण टीमको लगावले काम गर्ने उर्जा कहिले कमि नभएको बताउछिन् ।

‘यो फिल्ममा काम गर्दा मैले एउटा भिन्न अनुभव संगालेकी छु । मैले अहिलेसम्म सबै भन्दा बढी समय दिएको फिल्म पनि यही हो । तर, हामीले गरेको मेहनत पर्दामा देखिदा स्यावासी पाउँदा मन खुसी भएको छ’, उनले भनिन् । उनले फिल्ममा काम गरेपछि सगरमाथा आरोहन गर्ने प्रति आफ्नो सम्मान झनै बढेको बताइन ।

‘सगरमाथा आरोहन गर्न कति मेहनत लाग्ने रैछ भन्ने मैले बल्ल बुझे । हुन् त सगरमाथामा पहिलो आरोहन नै महिलाले गर्नुभएको हो, तर यसका लागि निकै ठूलो हिम्मत र साहस चाहिने रहेछ’, उनले भनिन् ।

आँचलले १० वर्षको करिअरमा आँचलले सफलता र असफलता दुवै अनुभव गरेकी छन् । ‘नाई नभन्नु ल ४’ बाट अडिसनमार्फत डेब्यू गरेकी उनले यो अवधिलाई समीक्षा गर्दै भनिन्, ‘यो १० वर्षे यात्रामा मैले लड्न र उठ्न सिकेँ । अब बल्ल मेरो यात्रा सुरु भएको महसुस हुन्छ । नमरुन्जेल यो क्षेत्रमा काम गर्ने धोको छ । यो सम्भव छ वा छैन, थाहा छैन, तर मेरो तर्फबाट यात्रा भर्खरै सुरु भएको छ । अब उड्ने सोचमा छु ।’

‘जेरीः अन टप’को टिजर, गीत र ट्रेलरले आँचलको अभिनयको प्रशंसा बटुलेको छ । फिल्म रिलिजपछि उनको कामको थप बलियो मूल्यांकन हुने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्