‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

फिल्म । आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्कासँगै डेब्यु अभिनेता विशाल देवकोटा देखिएका छन् । निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा स्वस्तिमा र विशाललाई जोडीको रुपमा प्रस्तुत गरेको छ । नेपालको रंगमञ्चमा अभिनेतासँगै निर्देशकको रुपमा चिनिएका विशाल ‘लालीबजार’ अडिसनमार्फत छनोट भएका थिएँ । उनको अभिनय कौशलताकै कारण डेब्यु फिल्ममै स्वस्तिमाको जोडी बन्ने अवसर प्राप्त गरेको निर्माण कम्पनि षट्कोण आर्ट्सले जनाएको छ ।

सानैदेखि कलाकार बन्ने सपना बोकेका विशाल नाटकमार्फत अभिनयलाई नजिकबाट बुझ्दै अघि बढेका थिए । रंगमञ्चमा काम गर्दै अनुभव बटुलेका देवकोटाले त्यसैको निरन्तरतास्वरूप फिल्म क्षेत्रमा प्रवेश गरेका हुन् । ‘सानैदेखि कलाकार बन्ने इच्छा थियो, त्यही सपना पछ्याउँदै आज यहाँसम्म आइपुगेको हुँ,’ उनले भने ।

उनका अनुसार कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा अभिनय गर्दा नै फिल्म ‘लालीबजार’को टिमको ध्यान उनीतर्फ खिचिएको थियो । त्यसपछि अडिसनका विभिन्न चरण पार गर्दै उनी फिल्ममा छनोट भएका थिए । यसरी रंगमञ्चको अनुभवले उनलाई फिल्ममा प्रवेश गर्ने ढोका खोलेको उनले बताएका छन् ।

उनले भने, ‘मैंले लास्ट टाइम कान्तिपुर थिएटरमा एउटा प्ले गरेको थिएँ ‘मिरा’मा । त्यो प्ले हेर्न प्रदिप भट्टराई सर, रबिन दाई अनि जेवी दाई आउनुभएको थियो । उहाँहरुले हेरिसकेपछि एकचोटि अप्सनका लागि भनेर अफिसमा बोलाएर अडिसनको सिलसिलाहरु सुरु भएको थियो ।’

रंगमञ्च र फिल्म अभिनयबीचको भिन्नता अनुभव गर्दै उनले दुवै माध्यममा अभिनयको स्वरूप फरक हुने बताए । रंगमञ्चमा एकैपटक पात्रलाई पूर्ण रूपमा जिउन पाइने भएपनि फिल्ममा भने दृश्य–दृश्यमा टुक्रिएर अभिनय गर्नुपर्ने उनको अनुभव छ । फिल्ममा कथावस्तु समाजको यथार्थसँग जोडिएको उल्लेख गरे ।

‘यो हाम्रो समाजकै यथार्थमा आधारित कथा हो, जसले एउटा परिवेश र त्यहाँको माहोल प्रस्तुत गर्छ,’ उनले भने । रंगमञ्च र फिल्म अभिनयबीचको फरकबारे बोल्दै देवकोटाले नाटकमा एकैपटक पात्रलाई जिउन पाइने तर फिल्ममा टुक्राटुक्रामा अभिनय गर्नुपर्ने अनुभव सुनाए ।

नयाँ टिमसँग काम गर्दा पनि आफूलाई सहज अनुभव भएको उनले बताए । षट्कोण आर्ट्स जस्तो स्थापित ब्यानरबाट डेब्यु गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको उनको भनाइ छ । उनले दर्शकलाई ‘लालीबजार’ परिवारसहित हेर्न आग्रह गरे । ‘यो पारिवारिक रूपमा हेर्न मिल्ने, रमाइलो र नयाँ कथामा आधारित फिल्म हो । बैशाख १८ गतेदेखि नजिकका सिनेमा हलमा गएर हेर्नुहोस्,’ उनले भने ।

फिल्मको सार्वजनिक गीत ‘मायालाई के दिउँ म बैना’ लाई दर्शकले रुचाएका छन् । फिल्मको उक्त गीतलाई ८० लाख दर्शकले हेरिसकेका छन् । फेसबुक रील्स, टिकटक भिडिओसँगै युट्युब सट्समा समेत उक्त गीतमा भिडिओ बनाउनेको सङ्ख्या बढ्दो छ ।

कमेन्ट गर्नुहोस्